बिहिवार, बैशाख २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ बैसाख । खोटाङमा कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रका कार्यकर्तामाथि कुटपिट गरेका छन् । मौन अवधिमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका कांग्रेस सभापति केदार राई नेतृत्वको समुहले माओवादी केन्द्रका कार्यकर्ता पदम राईलाई कुटपिट गरेका हुन् । पदम बुधबार हलेसीबजारबाट घर गैरीगुठ जानेक्रममा बाटोमा कुटिएका हुन् ।
७ जनाको समुहले ‘कता हिँडेको, कहाँ हिँडेको, आफ्नो टोलमा जा’ भन्दै कुटपिट गरेको पदमले बताए । उनलाई हलेसीस्थित एक क्लिनिकमा सामान्य उपचारपछि जिल्ला अस्पताल लगिएको छ । ‘हलेसीबाट घर जानेक्रममा एउटा घरमा बिसाइरहेका थियौं ।
कहाँ हिँडेको, के गर्न हिँडेको, आफ्नो गाउँ जा भन्दै कुटपिट गर्यो,’ पदमले भने, ‘दिपक राईले हात हालेपछि केदार लगायत सात जनाको समुहले कुटपिट गर्यो । भागेर ज्यान बचाएँ ।’ हाल उनको स्वास्थ्य अवस्था सामान्य छ ।
मौन अवधिमा भोट माग्दै गरेको भेटिएपछि पदममाथि हातपात भएको जानकारी आएको कांग्रेस जिल्ला उपसभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले पनि भोट मागेकै विषयमा सामान्य झगडा भएको बताएका छन् । उनी सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीको भनाई छ । पदमले भने घर जानेक्रममा बिसाएको ठाउँमा कुटपिट भएको दावी गरेका छन् ।