Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    मृत्युका विषयमा अनुसन्धान गर्न समिति गठन

    दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन

    दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन


    • शनिवार, जेठ १४ २०७९

    • नेपाल वाइड


    दाहालको मृत्यु शंकास्पद भएको भन्दै दिक्तेलमा विरोध प्रदर्शन
    दाहालको मृत्युका विषयमा छानविनको माग गर्दै आफन्तले दिक्तेलमा निकालेको जुलुस ।

    खोटाङ, १४ जेठ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका ६३ वर्षीय मणिराम दाहालको शंकास्पद मृत्यु भएको भन्दै आफन्तले छानविनको माग सहित विरोध प्रदर्शन गरेको छ ।

    दाहालको मृत्युका विषयमा छानविन गरी दोषी पत्ता लगाइनुपर्ने माग सहित आफन्तले शनिबार जिल्ला अस्पतालदेखि जिल्ला प्रशासन कार्यालयसम्म नारा जुलुस निकालेका छन् ।

    मृतकका आफन्त ‘मणिरामलाई न्याय दे, मोबाईल सार्वजनिक गर, घटस्थास्थलमा खटिएका प्रहरीलाई बर्खास्त गर’ लगायतका नारा लगाउँदै प्रशासन पुगेका हुन् । शवको जिल्ला अस्पतालमा पोष्टमार्टम गरिए पनि आफन्तले शव बुझ्न अस्वीकार गर्दै नारा जुलुसमा उत्रिएका थिए ।

    दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाटडाँडास्थित क्षितिज बहुउद्धेश्यीय सहकारीको कार्यालय रहेको घरको आफ्नै कोठामा शुक्रबार बिहान मृत फेला परेका थिए ।

    घटनाको सर्जमिन मुचुल्का तयार पार्नेक्रममा दाहालको साथमा भएको मोबाईल हराएको भन्दै आफन्तले घटनालाई थप शंकास्पद मानेका छन् । घटनाको प्रकृति ‘मृत्यु नभै हत्या भएको’ छोरा नवराज दाहालले बताए ।

    दाहालको शव सड्न लागेको र पहिचान गर्नै नसकिने अवस्थामा आफन्तले फेला पारेर खबर गरेका थिए । शव कोठामा खाटमा नभै भुईमा सिरकले ढाकेको अवस्थामा भेटिएको थियो ।

    मुखबाट रगत निस्किएको, आँखामा निलडाम लागेको, नाइटो भन्दा माथिल्लो भाग निलो भएको अवस्थामा दाहालको शव भेटिएको स्थानीय भोजराज अधिकारीले बताए । दाहाल बस्दैआएको दुई कोठामध्ये एउटा कोठा लिपपोत गरिएको र र्‍याल चुहिएको पाइएको छ । घटना प्रकृति शंकास्पद देखिएकाले सुक्ष्मढंगबाट अनुसन्धान गर्नुपर्ने आफन्तको माग छ ।

    rally for maniram_khotang1.jpg

    मणिराम ढकालको मृत्युका विषयमा छानविनको माग गर्दै आफन्तले दिक्तेलमा निकालेको जुलुस ।

    rally for maniram_khotang3.jpg

    मणिराम ढकालको मृत्युका विषयमा छानविनको माग गर्दै आफन्तले दिक्तेलमा निकालेको जुलुस । 

    rally for maniram_khotang4.jpg

    मणिराम ढकालको मृत्युका विषयमा छानविनको माग गर्दै आफन्तले दिक्तेलमा निकालेको जुलुस । तस्बीरहरुः दमन राई

    दाहालको मृत्युका विषयमा अनुसन्धान गर्न समिति गठन

    दाहालको रहस्यमय मृत्यु भएको विषयमा प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीको संयोजकत्वमा अनुसन्धान समिति गठन गरिएको छ । जुलुस प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त प्रशासन, प्रहरी लगायतको वार्ताले पाँच सदस्यीय अनुसन्धान समिति बनाएको हो ।

    समितिको सदस्यमा प्रहरी नायव निरिक्षक गोबिन्दकुमार खत्री, प्रहरी सहायक निरिक्षक कुमार बिष्ट, प्रहरी हवल्दार विपिन योगी, प्रहरी हवल्दार कैलाश लिम्बु र प्रहरी जवान सोमप्रसाद पहाडी राखिएका छन् । छलफलमा समितिमार्फत यथाशिघ्र सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्ने निर्णय भएको छ । अनुसन्धान समिति बनाउने निर्णयसँगै मृतकका आफन्त शव बुझ्न तयार भएको वडाध्यक्ष खगेन्द्र राईले बताए ।

    यस्तै, नेपाल प्रेस युनियनले दाहालको मृत्यसको विषयमा सत्यतथ्य पत्ता लगाउन र वास्तविकता बाहिर ल्याउन माग गरेको छ । युनियनका सचिव चिसाङ शेर्पाले जारी गरेको विज्ञाप्तीमा प्रहरीसँगै नजिक रहेको स्थानमा भएको घटनाको विषयमा यथाशिघ्र अनुसन्धान गरी नतिजा बाहिर ल्याउन माग गरिएको छ ।

    मृतक दाहाल नेपाल पत्रकार महासंघ जिल्ला शाखाका संस्थापक सदस्य, नेपाल प्रेस युनियन जिल्ला शाखाका संस्थापक सह–संयोजक थिए । उनी क्षितिज बहुउद्धेश्यीय सहकारी संस्थाको वर्तमान अध्यक्ष, ट्रेड युनियन कांग्रेसका पुर्वअध्यक्ष र कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए ।

    jjjjj.jpg
    नेपाल प्रेस युनियन खोटाङले जारी गरेको विज्ञाप्ती ।

    सम्बन्धित समाचार