आइतवार, जेठ १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ जेठ । प्लाष्टिक टनेल वितरणका क्रममा उत्पन्न विवादले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा एउटै सडकको तीन ठाउँमा बन्द गरिएको छ ।
वडा कार्यालयबाट प्लाष्टिक टनेल वितरण गर्नेक्रममा सुरु भएको विवादका कारण बाहुनीडाँडाको राँगाकाटे–वडा कार्यालय–निङ्लाम–पकन्चेप–झाप्पा–डुम्रे–रुपटार–कुर्ले सडकको फरक–फरक तीन स्थानमा अवरोध हालिएको हो ।
प्लाष्टिक टनेल वितरणका क्रममा विभेद गरिएको भन्दै स्थानीय आमा समुहले ११ जेठ साँझ पकन्चेपमा घोचो गाडेर मुढा तेस्र्याएर सडक बन्द गरेपछि सोही सडकको थप दुई स्थानमा अवरोध हालिएको हो ।
आमा समुहले पकन्चेपमा सडकमा छेकाबार हाले लगत्तै क्रमशः तल्लो झाप्पा र पकन्चेपमै सडकमा अवरोध हालिएको छ । पकन्चेपमा नजिक दुरीमा दुई स्थानमा सडकमा छेकाबार लागेको स्थानीयले बताएका छन् ।
बाहुनीडाँडामा कांग्रेसकातर्फबाट रुद्रकुमार राई दोश्रोपल्ट वडाध्यक्षमा निर्वाचित भएका हुन् । पकन्चेपमा सुरुमा माओवादी केन्द्रको उक्साहटमा सडक छेक्ने काम भएको कांग्रेसको दावी छ ।
त्यसकै प्रतिक्रिया स्वरुप सोही सडकको अन्य खण्डमा श्रृंखलावद्ध अवरोध राखिएको कतिपयको बिश्लेषण छ । पकन्चेपमा आमा समुहले सडक छेकेपछि सोही नजिकै आइतबार कांग्रेसमा आवद्ध स्थानीयले अर्को छेकाबार हालेका छन् ।
उनीहरुले सडकले मिचेको जग्गाको मुआव्जा दिइनुपर्ने, विद्युतको पोललाई सार्नुपर्ने, जग्गामा पर्खाल हालिदिनुपर्ने लगायतका माग देखाएर सडकका फरक–फरक ठाउँमा छेकबार हालेका हुन् ।
किसानलाई वितरणका लागि वडा कार्यालयले निर्वाचनअघि २७० थान प्लाष्टिक टनेल ल्याएको थियो । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा बाँड्न सुरु गरिएको भन्दै बिरोध भएपछि प्लाष्टिक टनेल बाँड्ने काम रोकिएको थियो ।
नागरिकताको फोटोकपी, खाल्डो खनेको तस्बीर र वडाको सिफारिसका आधारमा प्लाष्टिक टनेल वितरण गर्ने भनिएको थियो । तर पक्षपातपूर्ण तरिकाले प्लाष्टिक टनेल वितरण भएकाले सडक बन्द गरिएको स्थानीय संगीता राईले बताईन् ।
‘खाल्डो नखनेका परिवारलाई पनि प्लाष्टिक टनेल दिइयो । कतिपयलाई घरैमा प्लाष्टिक टनेल पठाउने काम भयो । सुक्खाग्रस्त ठाउँलाई प्राथमिकता दिइएन,’ संगीताले भनिन्, ‘यही सडक खन्ने क्रममा फिर्ता दिनेगरी उठाइएको पैसा हालसम्म फिर्ता दिइएको छैन । त्यो पैसा फिर्ता पाउनुपर्छ भन्ने पनि हाम्रो माग हो ।’
स्थानीय दयाबहादुर राईले पनि मापदण्ड विपरित प्लाष्टिक टनेल वितरण गर्दा समस्या निम्तिएको बताए । वडाध्यक्ष राईले भने प्लाष्टिक टनेल वितरणमा विभेद नगरेको दावी गरेका छन् ।
‘खाल्डो खनेर १५–२० जनाले मात्र प्लाष्टिक टनेल लगेका छन्, अरुलाई सिफारिसका आधारमा दिइएको हो । प्रकृया पुरा गरेर आउनेलाई रित्तो फर्काउँदैनौँ ।
नपुगे नगरपालिकाबाट ल्याएर वितरण गर्छौँ,’ वडाध्यक्ष राईले भने, ‘खाल्डो खनिसकेका र सिफारिस भएका अशक्तलाई घरैमा पठाइदिएका हौँ । विपक्षी साथीहरुबाट राजनितिक इस्यू बनाउने काम भएको छ ।’ सडकमा चार ठाउँ अवरोध भइरहँदा समस्या समाधानमा भने हालसम्म कसैको पहल कदमी भएको छैन ।