शुक्रवार, जेठ २० २०७९
नेपाल वाइड
खोटाङ, २० जेठ । बाईकको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाईते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर घाईते भएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्क जिरोप्वइन्टबाट बजारभित्र जाँदै गरेको बाईकले श्रेष्ठलाई सपिङ कम्प्लेक्स अगाडि सडक छेउमा ठक्कर दिएको थियो । श्रेष्ठ आफ्नो परिवार सहित सपिङ कम्प्लेक्स नजिकै बस्दैआएका छन् ।
स्पीडमा पछाडिबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा चोट लागेको छ । श्रेष्ठलाई उपचारका लागि दिक्तेलको फेमिली केयर अस्पतालमा लगिएको थियो ।
फेमिली केयरले रेफर गरेपछि श्रेष्ठलाई हेलीकोप्टरमार्फत न्युरो अस्पताल बासबारी लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरिक्षक शंकरप्रसाद चौधरीले बताए । उनी राप्रपा खोटाङका निवर्तमान अध्यक्ष हुन् ।
उनी भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका उम्मेदवार थिए । राप्रपाका जिल्ला अध्यक्ष ललित राईका अनुसार श्रेष्ठको अवस्था चिन्ताजनक छ ।
बाईक दुर्घटनामा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङकी ४८ वर्षीय बिष्णुकुमारी राई पनि घाईते भएकी छन् । हेलीकोप्टरबाट श्रेष्ठसँगै काठ्माण्डौं पठाइएकी राईको पनि न्युरो अस्पतालमै उपचार भइरहेको छ । बाइक चालक लफ्याङका १७ वर्षीय अभिषेक राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते बिष्णुकुमारी र अभिषेक आमाछोरा हुन् ।