शुक्रवार, जेठ २० २०७९
नेपाल वाइड
खोटाङ, २० जेठ । विपद जोखिम न्युनीकरणका सन्दर्भमा खोटाङको साकेला गाउँपालिकाले ‘जिरो आवर सर्भिस’को नीति अलवम्बन गर्ने निर्णय गरेको छ ।
बिहिबार कार्यपालिकाका ६ जना सदस्यको शपथ ग्रहण, बधाई तथा शुभकामना लगत्तै बसेको गाउँ कार्यपालिकाको पहिलो बैठकले आपतविपदमा परेका पालिकाबासीको सहयोग तथा उद्धारका लागि २४ घण्टा सेवा उपलव्ध गराउने निर्णय गरेको हो ।
बाढी पहिरो, आगलागी, चट्याङ, दुःख बिमारका कारण जोखिममा परेका नागरिकको सहयोग तथा उद्धारका लागि ‘जिरो आवर सर्भिस’ लागु गर्ने निर्णय गरिएको साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।
प्रकोप तथा विपत्तीका समयमा तत्काल उद्धार तथा सहयोग उपलव्ध गराउनका लागि कार्यपालिका बैठकले आवश्यक नीति तयार पारेर सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ । “कार्यालय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र खुल्छ ।
भइपरी आउने आपतविपदमा नागरिकलाई २४ घण्टा सेवा गर्ने संयन्त्र छैन,” गाउँपालिका अध्यक्ष राईले भने, “नागरिक आपतविपदमा परेका समयमा स्थानीय सरकार सुत्दैन । आपतविपदमा सहयोग गरेन वा प्रयत्नसम्म गरेन भने सरकार लोकतान्त्रिक हुन्न ।”
गाउँपालिकाले भइपरी आउने समस्यामा परेका नागरिकलाई जुनसुकै समयमा तत्काल उद्धार, राहत तथा पुःर्नस्थापनाको लक्ष्य राखेको छ । विपद जोखिमका लागि ‘जिरो आवर सर्भिस’ नितीले भविष्यमा प्रकोप तथा विपत्ती न्यूनीकरणमा रणनिती तयार पार्नमा समेत सघाउ पुग्ने गाउँपालिका अध्यक्ष राईले बताए ।
“विपत्तीमा परेका जनताको सेवाका लागि अहिलेसम्म संघ, प्रदेश वा अन्य स्थानीय सरकारले सोचेकै देखिन्न । अहिलेसम्म कसैले नगरेको काम सुरु गर्न लागेका हौँ,” राईले भने, “यसबाट प्रकोप तथा विपत्तीको समस्या कसरी सिर्जना हुन्छ, त्यसको समाधान कसरी गर्न सकिन्छ ? प्रेभेन्ट गर्ने उपायका बारेमा अध्ययन गर्न सकिन्छ भन्ने लक्ष्य राखेका छौँ ।”