शुक्रवार, जेठ २७ २०७९
नेपाल वाइड
खोटाङ, २७ जेठ । हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काममा ढिलासुस्ती गर्ने दुई निर्माण कम्पनीबाट ३ करोड १ लाख ३३ हजार ९६८ रुपैयाँ मोबिलाइजेसन पेश्की फिर्ता लिइएको छ ।
संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङले आयोजनाको काममा चरम ढिलासुस्ती गर्ने रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीबाट २ करोड र लामा कन्ट्रक्सनबाट १ करोड १ लाख ३३ हजार ९६८ रुपैयाँ मोबिलाइजेसन पेश्की फिर्ता लिएको हो । मोबिलाइजेसन पेश्की संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालयको खातामा जम्मा भएको छ ।
सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी गाउँमा निकाल्नका लागि २०७४ सालदेखि बृहत पम्पिङ खानेपानी आयोजनाको काम अघि बढाइएको हो ।
तर २०७७ सालभित्र सम्पन्न हुनुपर्ने आयोजनाको काम हालसम्म पुरा हुन नसकेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो ।
नदीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाईनको ठेक्काको काम दिवा–महादेव खिम्तीले गरिरहेको छ ।
यस्तै काभ्रेडाँडामा निकालिएको पानीलाई महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गर्ने कामको ठेक्का रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले गरिरहेको छ । भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरण गर्ने ठेक्का लामा कन्ट्रक्सनले लिएको छ ।