बिहिवार, आषाढ २ २०७९
नेपाल वाइड
खोटाङ, १ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाध्यक्ष अर्जुनकुमार पुरीले महिला कर्मचारीमाथि लैंगीक विभेद गरेको खुलेको छ ।
वडाध्यक्ष पुरीले वडा समितिको बैठकबाटै निर्णय गराएर महिला वडा सचिवको ठाउँमा पुरुष वडा सचिव माग गर्दै नगरपालिकामा पत्र पठाएपछि लैंगीक बिभेद गरेको विषय छताछुल्ल भएको हो ।
वडा समितिको ३० जेठको निर्णय अनुसार ३१ जेठमा नगरपालिकामा पठाइएको पत्रमा पुरुष कर्मचारीको तुलनामा महिला कर्मचारीबाट सेवा प्रवाह असहज हुने उल्लेख छ । हलेसी तुवाचुङ नगरपालिका प्रमुख बिमला राई छिन् । जनप्रतिनिधिबाटै खुलेआम लैंगीक विभेद भएको भन्दै हाल महिला कर्मचारीले पुरीको बिरोध जनाइरहेका छन् ।
नगरपालिकाले अर्खौलेमा सुशिला दाहाललाई वडा सचिवका रुपमा पठाएको हो । तर वडाले दाहाललाई हाजिर गराएर काममा लगाउनुको सट्टा नगरपालिका समक्ष पुरुष वडा सचिव व्यवस्थाको माग गरेको छ ।
“यो वडा भौगोलिक तथा जनसंख्याको हिसावले ठुलो रहेको साथै यस वडाको साविक ८ र ९ लाई लक्ष्यित गरी हप्ताको एकदिन नवलपुरबाट सेवा प्रवाह गर्ने काम भइरहेको छ,” वडाको पत्रमा भनिएको छ, “पञ्जीकरण र सामाजिक सुरक्षाभत्ता अनलाइन प्रणालीबाट प्रवाह भइरहेकाले कामको चाप बढी हुने र जनप्रतिनिधिहरु नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएकाले यस वडामा पुरुष कर्मचारीलाई नै वडा सचिव व्यवस्था गरीदिन हुन अनुरोध छ ।”