बुधवार, आषाढ ८ २०७९
नेपाल वाइड
खोटाङ, ८ असार । भोट हाल्न गाउँ जानेक्रममा आफ्नै हजुरमाको हत्या गरेको अभियोगमा नाती पक्राउ परेका छन् । खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षकी तुलसा खड्कालाई भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाती हरि खड्का पक्राउ परेका हुन् ।
घटनापछि सम्पर्क विहिन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पूष्टी गरेपनि थप अनुसन्धानपछि यतार्थ सार्वजनिक गर्ने जनाएको छ ।
तुलसा गत ३० बैसाखको स्थानीय तहको निर्वाचनमा मतदान गर्न भन्दै २६ बैसाखमा नाती हरिसँग सुनसरीबाट खोटाङतर्फ हिँडेकी थिईन् । तर मतदानका लागि हिँड्की वृद्धाको शव ३१ बैसाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो ।
बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरिएको भतिजेनी लक्ष्मी खड्का बताउँछिन् । उनको गत १८ जेठमा सनाखत भएको थियो ।
गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्क विहिन बनेका थिए । हजुरमाको हत्या गरेको भन्दै नाती बिरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालय खोटाङमा कर्तव्य ज्यान सम्वन्धी किटानी जाहेरी दर्ता भएको थियो । पारिवारिक बेमेल र हिंसा पिडित बृद्धालाई भतिजेनी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिईन् ।
शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारहरुले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई त्यस्तै प्रयोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थिए ।
तर आफु विहेमा गएको बेलामा बृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा बेत्तपा पारिएको लक्ष्मीको दावी छ । मतदानका लागि सँगै गएका हजुरमा बेपत्ता भएपछि आफन्तले नातीलाई शंकास्पद नजरले हेरेका थिए ।
घटना थप शंकास्पद बन्दैगएपछि लक्ष्मीले ठुलीआमाको हत्या भएको र हत्यामा नातीकै संलग्नता रहेको सामाजिक सञ्जालमार्फत लाइभ बसेर दावी गरेकी थिईन् ।