Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण

    धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण


    • मंगलवार, आषाढ १४ २०७९

    • नेपाल वाइड


    धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण
    मझुवागढीमा बृक्षारोपण गरिँदै ।

    खोटाङ, १४ असार । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा बृक्षारोपण गरिएको छ । बृक्षारोपण दिवसको अवसरमा मझुवागढीमा मंगलबार बिहान फूल र सजावटजन्य बहुवर्षे बिरुवा रोपण गरिएको हो ।

    सामुदायीक वन उपभोक्ता महासंघ र प्रगतीशिल युवा सञ्जालको व्यवस्थापनमा डिभिजन वन कार्यालय खोटाङले देविस्थान सामुदायीक वन क्षेत्रमा धुपी, धुपी सल्ला, रुख कमल, कल्की, कामिनी, जाराकान्डा, असारे फूल, लालुपाते, दाँते ओखर, हलुवाबेद, जाइ, मसला, लालीगुराँस लगायतका बिरुवा रोपिएको हो ।

    जिल्ला समन्वय समिति खोटाङका उपप्रमुख सुरेश तामाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, डिभिजन वन कार्यालयका निमित्त प्रमुख जगदीश रेग्मी, सामुदायीक वन उपभोक्ता महासंघका प्रदेश सचिव सुर्यबहादुर राई, महासंघका जिल्ला अध्यक्ष राजेन्द्र राई लगायतको सहभागीतामा बृक्षारोपण गरिएको हो ।

    plantation at majhuwagadhi_khotang.jpg

    मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने अभियान अन्तरगत सोही स्थानमा बृक्षारोपण गरिएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख रेग्मीले बताए ।

    दिक्तेलको हाटडाँडाबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने मझुवागढी र कालिका भगवती मन्दीर आसपासका खाली जग्गा तथा सो स्थानमा पुग्ने पैदलमार्ग छेउछाउमा फूल रोपेर ‘फूलको पहाड’ बनाउने महत्वकांक्षी परिकल्पना गरिएको छ ।

    मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई आकर्षक गन्तव्य स्थलका रुपमा विकास गर्ने योजना छ । यसका लागि आवश्यक गुरुयोजना तयार पारेर ‘फूलको पहाड’ बनाउने साझा सपना पुरा गर्ने लक्ष्य राखिएको छ ।

    चारैतिर हरियाली जंगलले घेरिएको गढीमा घुमफिर गर्ने, पिकनिक जाने, अध्ययन भ्रमण गर्ने, साहित्यीक तथा सांगीतिक कार्यक्रम गर्नेसम्मका स्थानीय पुग्ने गरेका छन् । अग्लो डाँडा भएका कारण टाढा–टाढाका दृश्यावलोकनकालागि समेत स्थानीय मझुवागढी उक्लिने गर्छन् ।

    यसबाहेक मझुवा कालिका भगवतीको दर्शन गर्न र भाकल पूरा गर्न आउनेको भीड दैनिक लाग्ने गरेको छ । गढीमा हरेक वैशाख पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने प्रचलन छ । भगवती मन्दिरमा कहिलेकहीँ दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।

    plantation at majhuwagadhi_khotang2.jpg

    सम्बन्धित समाचार