बुधवार, आषाढ १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ असार । प्रदेश १ का पुर्वसामाजिक विकास मन्त्री उषाकला राईले निःशुल्क उपचार कोष स्थापना गरेर गरिबको स्वास्थ्य उपचार व्यवस्था गर्न सकिने अवधारणा अघि सारेकी छन् ।
प्रदेशको स्वास्थ्य र सामाजिक विकास मन्त्रालय सम्वन्धी विनियोजन विद्येयकमाथिको छलफलमा आफ्नो धारणा राख्नेक्रममा पुर्वसामाजिक विकास मन्त्री राईले जनताबाटै सहयोग उठाएर जनताकै स्वास्थ्यपचारमा खर्च गर्न सकिने अवधारणा राखेकी हुन् ।
प्रदेश १ का करिब ४५ लाख जनताबाट जनही ५० रुपैयाँका दरले वार्षिक २ अर्ब ७० लाख कोषमा संकलन गरेर गरिबको लागि निःुशल्क उपचार कोषको स्थापना गर्न सकिने पुर्वमन्त्री राईको भनाइ छ ।
राईले ‘गरिबको निःशुल्क उपचार कोषमा योगदान गरौं’ भन्ने नारासहित नि:शुल्क उपचार कोष खडा गर्न सके गरिब जनतालाई उपचार नपाएर अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने उल्लेख गरेकी छन् ।
‘प्रदेशभरीका जनतालाई एउटै घरमा, एउटै कोठामा कम्प्यूटरमा एउटै एप्समा अटाउन सक्छौं । हामीबिच छरिएर रहेको पैसालाई एउटा नियम र अनुशासनमा बाँधिएर कलेक्सन गरेर व्यवस्थापन गर्ने हो भने गरिबको लागि उपचार गर्ने कोषमा आफै पर्याप्त रकम संकलन गर्न सक्छौँ,’ पुर्वमन्त्री राईले भनिन्, ‘४५ लाख जनतालाई एउटा परिवार मानेर जनही ५० रुपैयाँ उठाउँदा मासिक २ करोड २५ लाख जम्मा हुन्छ ।
एक वर्षमा २ अर्व ७० लाख जम्मा हुन्छ । यसलाई कार्यविधि बनाएर गरिबको उपचारमा प्रयोग गर्नसकिन्छ ।’ पुर्वमन्त्री राईले एप्स तयार पारेर प्रदेशका १३७ पालिकाका प्रत्येक वडामार्फत निःशुल्क उपचार कोषका लागि सहयोग संकलनको व्यवस्था गर्न सकिने उल्लेख गरिन् ।
उनले आफु सामाविक विकास मन्त्री भएकोबेला तत्कालिन सरकारले गरिबको उपचारमा निःशुल्क कोष बनाउने योजना अगाडि बढाएको तर त्यस बारेमा छलफल हुन नपाएको गुनासो गरिन् । राईले सामाजिक न्याय, महिला हिंसाको अन्त्या र लैंगिक समानता तथा बलात्कार न्यूनीकरण सम्वन्धी विषय पाठ्यक्रममै समेट्नुपर्ने धारणा रोखेकी छन् ।