शनिवार, आषाढ १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ असार । भारी वर्षाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरका बलराम खत्रीको घर बगाएको छ । भारी वर्षसँगै करिब ५०० मिटर माथिबाट खसेको पहिरोले खत्री परिवारको रित्तो घर बगाएको हो ।
खत्री परिवार केही समयअघिदेखि इटहरी बस्दैआएका छन् । सोही पहिरोले भैरबहादुर राईको गोठ बगाउँदा एउटा भैंसी, एउटा पाडो र एउटा बहर गोरु पुरिएको छ । भैंसीलाई भने पहिरोबाट सकुशल उद्धार गरेर निकालिएको वडाध्यक्ष चिरञ्जिवी कार्कीले बताए ।
पहिरोबाट खोतलेर मरेको पाडो निकालिएको छ । बहर गोरु भने हालसम्म फेला परेको छैन । हौंचुर–डाँडागाउँ–जालपा सडकको भित्ता तथा सडकको डिलमा थुपारिएको फिलिङ माटो भिजेर पहिरोको रुपमा खसेको हो ।
पहिरोका कारण हौंचुरका ११ घर जोखिममा परेका छन् । भैरबहादुर राई, उद्योगबहादुर भुजेल, कृष्णबहादुर राई, पत्थरबहादुर राई, धनकुमार राई, बर्णबहादुर राई, हरि राई, पर्शुराम राई र प्रदिप राईको घर जोखिममा परेको हो ।
त्यसमध्ये भैरबहादुर र उद्योगबहादुरको घर अति जोखिममा परेको वडाध्यक्ष कार्कीले बताए । पहिलोभन्दा माथि रहेका चित्रबहादुर कार्की र शुक्रराज राईको घर पनि जोखिममा परेको छ । जोखिममा परेको परिवारलाई सुरक्षित स्थानमा सार्नका लागि सुझाव दिइएको गाउँपालिकाकी उपाध्यक्ष कौशिला गुरुङले बताइन् ।


