Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङ : च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन

    हलेसी तुवाचुङ : च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन


    • आइतवार, आषाढ १९ २०७९

    • नेपाल वाइड


    हलेसी तुवाचुङ : च्यास्मीटारमा बन्यो महिला कृषि सहकारी संस्थाको भवन
    च्यास्मीटारमा निर्माण गरिएको महिला कृषि सहकारी संस्थाको भवन उद्घाटन गर्दै मेयर बिमला राई र उपमेयर रमेश राउत ।

    खोटाङ, १९ असार । हरेक वडामा महिला कृषि सहकारी स्थापना गर्ने अभियान अन्तरगत खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा महिला कृषि सहकारी संस्थाको भवन निर्माण गरिएको छ ।

    वडा कार्यालयको ३ लाख र नगरपालिकाको ९ लाखको लागतमा दुई कोठे एक तले भवन निर्माण गरिएको हो । कृषि सहकारीको संस्थागत प्रयोजनका लागि बनाइएको भवन शनिबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका छन् ।

    नगरपालिकाको ‘एक वडा एक महिला कृषि सहकारी’ स्थापना गर्ने अभियान अन्तरगत स्थापना गरिएको महिला सहकारी समुहले आफ्नै भवन निर्माण गरेको हो ।

    भवनको एक कोठा प्रशासनिक र अर्को कोठा सभाहलका रुपमा उपयोग गरिने सहकारीले जनाएको छ । सहकारीको भवन निर्माणका लागि समुहले गत तिहारमा टोल–टोलमा पुगेर देउसी कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

    भवन उद्घाटनका क्रममा मेयर राईले सहकारीमा आवद्ध गर्भवती र सुत्केरीको पोषण तथा जिविकोपार्जन कार्यक्रमका लागि ६ लाख २५ हजारको चेक हस्तान्तरण गरेकी छन् ।  सोही कार्यक्रमका वडाका १०३ ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

    यस्तै, ‘बालिका बचत’ कार्यक्रम अन्तरगत ९ बालिकालाई रकमको भौचर हस्तान्तरण गरिएको छ । नगरमा आर्थिक वर्ष २०७७/०७८ यता जन्मिएका छोरीको नाममा खाता खोलेर र ३ वर्षको उमेर पुग्दासम्म बार्षिक ४ हजारका दरले खातामा रकम जम्मा गरिदिनेगरी ‘बालिका बचत’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

    यस्तो छ महिला कृषि सहकारी अभियान

    कृषि सहकारीमार्फत महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने हलेसी तुवाचुङ नगरपालिकाको लक्ष्य अनुशार आर्थिक वर्ष २०७६/०७७ देखि हरेक वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको थियो ।

    तरकारी खेती, फूल खेती, सिन्के धुप उत्पादन, व्यापार व्यवसाय लगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यम सम्वन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले वडा–वडामा महिला कृषि सहकारी स्थापनाको अवधारणा अघि सारिएको मेयर राईले बताईन् ।

    कृषि सहकारीको माध्यमबाट महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने तथा ऋणका लागि चर्को व्याज असुल गर्ने विभिन्न वित्तीय संस्थालाई गुहार्नु पर्ने वाध्यताबाट महिलालाई मुक्ती दिलाउने लक्ष्य राखिएको छ ।

    नगरपालिकाका ११ वडामध्ये हालसम्म च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा मखमली बचत तथा ऋण सहकारी, हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटार, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा हलेसी महिला कृषि सहकारी र हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेमा महिला कृषि सहकारी स्थापना गरिसकिएको छ ।

    हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेको दुधकोसी महिला कृषि सहकारी भने स्थानीय तह कार्यान्वयनमा आउन अगाडि महिला बिकास कार्यालयको पहलमा स्थापना गरिएको थियो ।

    अन्य वडामा पनि क्रमशः महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि सबैभन्दा पहिला दुर्छिममा महिला कृषि सहकारी स्थापना गरिएको थियो ।

    सहकारी स्थापनाकाक्रममा नगरपालिकाकातर्फबाट बीउ पुँजी पनि उपलव्ध गराउने व्यवस्था मिलाइएको मेयर राईले बताईन् । ‘महिलालाई संगठिन गर्दै व्यापार व्यवसायमा संलग्न गराउने र त्यसबाट आउने आम्दानीलाई बचत गर्दै उत्पादनमुलक ठाउँमा खर्च गर्ने वानीको बिकास गर्ने हाम्रो लक्ष्य हो,’ मेयर राईले भनिन्, ‘यसबाट नगरपालिकाका महिला आर्थिकरुपमा आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ ।’

    विभिन्न वडाका महिलाले उत्पादन गरेको थोकवस्तु बिक्री वितरणका लागि कोसेसी घर वा संकलन केन्द्र सञ्चालन गर्ने योजना बनाइएको छ । व्यवसाय सञ्चालनका लागि महिलालाई सम्वन्धित व्यवसायका विषयमा सीपमुलक तालिमको व्यवस्था समेत गरिएको छ ।  हलेसीमा स्थापना गरिएको हलेसी कृषि महिला सहकारी संस्थाले हालसम्म ९ लाख बचत गरिसकेको र ६ लाख लगानी गरिसकेको छ ।

    सम्बन्धित समाचार