बिहिवार, आषाढ २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ असार । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य मेनुजा बिश्वकर्मा (३०) मृत फेला परेकी छन् । गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसकातर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित बिश्वकर्मा बिहिबार बिहान मृत फेला परेकी हुन् ।
मंगलबार माइतीतर्फका हजुरबाको मृत्यु भएपछि माइती घर पुगेकी मेनुजा झुण्डिएको अवस्थामा मृत फेला परेको रावाबेँसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठले बताए । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोश्रो पल्ट विजयी भएकी हुन् । उनी गाउँ कार्यपालिका सदस्यमा पनि विजयी भएकी थिइन् । उनका दुई छोरी छन् ।
श्रीमान भूपेन्द्र बैदेसिक रोजगारीका सिलसिलामा दुबई छन् । बुधबार राती बुवाआमा हजुरबाको मरण भएको कान्छा काकाको घरमा गएपछि मेनुजा बहिनी र दुई छोरी सहित माइती घरमा सुतेकी थिईन् ।
रातको २ बजे पिसाव फेर्न गएर आएपछि सुतेकी उनी घरको तलामा बिहान मृत अवस्थामा फेला परेको वडा सदस्य महेश श्रेष्ठले बताए । मेनुजाले बेला–बेलामा टाउको दुख्यो भन्दै सुनाउँदै आएकी थिईन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ ।
घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएपी उमेश लम्सालले बताए । स्नातक उत्तिर्ण गरेकी मेनुजाले कांग्रेसका वडा सभापतिको जिम्मेवारी पाएकी थिइन् ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खामीका ४३ वर्षीय रुद्रसेर राई बिहिबार बिहान घरपछाडी रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।