शनिवार, आषाढ २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा बृद्धको शव फेला परेको छ ।
बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो नाम, थर र वतन नखुलेको अन्दाजी ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सड्न लागिसकेको शव घट्नास्थल लास चाँज मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरेर जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएको छ ।
रातो र कालो रंगको ज्याकेट, पहेलो र फुस्रो रंगको जम्फर, कालो पेन्ट लगाएको, कम्मरमा कपडाको डोरीले पेन्ट बाँधेको वृद्धको गहुँगोरो अनुहारमा हल्का कपाल, दाह्रीजुँगा फुलेको देखिएको छ ।
उनको उचाई अन्दाजी ५ फिट ५ ईन्च रहेको प्रहरीको अनुमान छ । शव फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घट्नास्थल लास चाँज मुचुल्काको लागि शंखु पुगेको थियो । आफन्त हराएको वा बेवारिसे शवको पहिचान भए सम्पर्क गर्न प्रहरीले आव्हान गरेको छ ।