बिहिवार, श्रावण १२ २०७९
नेपाल वाइड
खोटाङ, १२ साउन । खोटाङको खोटेहाङ गाउँपालिका–४ बडकादियाले र खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका किसानलाई बाँदर धपाउने मेसिन वितरण गरिएको छ ।
बाँदरले अन्नबाली सखाप पारेर हैरान बनेका किसानलाई लक्षित गर्दै वडा कार्यालयले युपिभिसी पाइपबाट निर्माण गरिएको बन्दुककोजस्तो ठूलो आवाज आउने उपकरण खरिद गरेर वितरण गरेको हो ।
बिहिबार बडकादियालेका १० जना र खोटाङबजारका १० किसानलाई पड्काएर बाँदर धपाउने उपकरण वितरण गरिएको छ । राष्ट्रिय आविष्कार केन्द्रबाट प्रतिगोटा दुई हजार आठ सयका दरले खरिद गरेर बाँदर धपाउने मेसिन ल्याइएको खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए ।
खोटाङबजारमा आवश्यकताको आधारमा किसानले प्रयोग गर्न पाउनेगरी वडाका १० वटा टोल सुधारलाई मेसिन प्रदान गरिएको छ । किसानलाई सय पटक पडकाउन पुग्ने कच्चा पदार्थ सहित पड्कने मेसिन प्रदान गरिएको हो ।
खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली बाँदरले सखाप बनाउँदा जिल्लाका किसान आजित छन् ।
बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पु¥याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर गत २०७५ साल फागुन ७ गतेदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानमा ‘बाँदर समाऔं’ अभियान सञ्चालन गरिएको थियो ।
यद्यपी, निकुञ्जमा लैजान अगावै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो ।
बाँदर समात्दा पशु अधिकारकर्मीले आवाज उठाएका कारण बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरलाई खोरमा थुन्ने, परिवार नियोजन गर्नुपर्ने लगायतका आवाज उठाउँदै आएका छन् ।