बिहिवार, श्रावण १२ २०७९
नेपाल वाइड
खोटाङ, १२ साउन । खोटाङमा विभिन्न कार्यक्रम गर्दै शहीद मनोज जोशी–झपेन्द्र कार्कीको ३१ औं स्मृति दिवस मनाउने तयारी गरिएको छ ।
२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकैक्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा तीनदिनसम्म विभिन्न कार्यक्रम गर्दै ‘मनोज–झपेन्द्र’ स्मृति दिवस मनाउने तयारी गरिएको हो ।
स्मृति दिवसको अवसरमा साउन १३ गते बिहान दिक्तेलस्थित मनोज मार्ग सरसफाई गर्नुका साथै अनेरास्ववियुको संयोजनमा रक्तदान, साउन १४ गते बिहान जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण र साउन १५ गते जोशीको समाधिस्थलमा श्रद्धाञ्जलीसभाको कार्यक्रम राखिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए ।
प्रतिष्ठानले साउन १५ गतेदेखि खोटाङ फुटबल एकेडेमीको आयोजनामा सुरु हुने फुटबल प्रतियोगीताको प्रथम पुरस्कार प्रयोजनको घोषणा गरेको जनाएको छ ।
जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदैआएको छ । जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।
तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई सरकारसँग भएको सम्झौता अनुशारको सेवा सुबिधा नदिइएको बिरोधमा कर्मचारीहरुको अगुवाईमा निस्किएको शान्तिपूर्ण जुलुसमा सहभागी बनेका जोशीलाई दिक्तेलको हेलीप्याडमा प्रहरीको गोली लागेको थियो ।
बिरोध जुलुस बजार परिक्रमापछि तत्कालिन प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद सिलवालको कार्यकक्षतर्फ जानेक्रममा प्रहरीले अन्धाधुन्ध चलाएको गोली जोशीलाई लागेको घट्नाका प्रत्यक्षदर्शीहरु बताउँछन् । उसबेला आक्रोशित भीडले केही कार्यालय प्रमुखहरुलाई नियन्त्रणमा लिएर घाँस खुवाउने लगायतका दुव्र्यबहार गरेका थिए ।
सरकारबिरुद्धको आन्दोलनमा सहभागी भएको भन्दै आन्दोलनमा सहभागी जिल्लाका १३ जना कर्मचारीहरु जागीरबाट हटाइएका थिए । दिक्तेल बहुमुखी क्याम्पसमा अध्यायनरत विद्यार्थी जोशीको हत्या भएको सोही घटनालाई जिल्लामा ‘मनोज हत्याकाण्ड’ कारुपमा चिन्ने गरिन्छ । सोही दिनको कर्मचारी आन्दोलन र गोली काण्ड भएको दिनलाई जिल्लामा ‘मनोज–झपेन्द्र’ स्मृति दिवसकारुपमा मनाइदै आइएको छ ।