शुक्रवार, श्रावण १३ २०७९
नेपाल वाइड
खोटाङ, १३ साउन । शहीद मनोज जोशी–झपेन्द्र कार्कीको ३१ औं स्मृति दिवसको अवसरमा अनेरास्वबियु खोटाङले रक्तदान कार्यक्रम गरेको छ । कर्मचारी आन्दोलनका क्रममा शहीद बनेका जोशी र कार्कीको स्मृति दिवसको अवसरमा शुक्रबार अनेरास्ववियुले रक्तसञ्चार केन्द्र (ब्लड बैंक)मा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
रगतको अभावमा ज्यान गुमाउन बाध्य सर्वसाधारणलाई लक्ष्यित गर्दै रक्तदानको आयोजना गरिएको अनेरास्ववियु खोटाङका सचिव बिष्णु उपरकोटीले बताए ।
रक्तदान कार्यक्रममा पाँच जनाले रक्तदान गरेको र १० जनाले जुनसुकै बेला रक्तदान गर्नेगरी नाम र सम्पर्क नम्बर रक्तसञ्चार केन्द्रलाई बुझाइएको अनेरास्ववियुले जनाएको छ । रक्तदातालाई एमाले सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल, रेडक्रसका मन्त्री छत्र बजिमयले प्रमाण–पत्र प्रदान गरेका थिए ।
२०४८ साल साउन १५ गते बुधबार नेपाल निजामती कर्मचारी संगठनमा आवद्ध कर्मचारीले दिक्तेलमा निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी बनेकाबेला प्रहरीको गोली लाग्दा ज्यान गुमाएका जोशी र कर्मचारी आन्दोलनकैक्रममा आगजनीमा ज्यान गुमाएका कास्कीका वारुणयन्त्र चालक कार्कीको स्मृतिमा जिल्लामा विभिन्न कार्यक्रम गर्दै दिवस मनाइदैछ ।
स्मृति दिवसको अवसरमा शुक्रबार दिक्तेलस्थित मनोज मार्ग सरसफाई गरिएको छ । साउन १४ गते बिहान जिल्ला अस्पतालका बिरामीलाई फलफुल वितरण र साउन १५ गते जोशीको समाधिस्थलमा श्रद्धाञ्जलीसभाको कार्यक्रम राखिएको मनोज स्मृति प्रतिष्ठान खोटाङका अध्यक्ष कुमार आचार्यले बताए ।
जिल्लामा मनोज स्मृति प्रतिष्ठान, नेपाल निजामती कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै जोशी र कार्कीको स्मृति दिवस मनाउँदैआएको छ । जोशीलाई सरकारले २०७४ साल माघ २२ गते शहीद घोषणा गरेको थियो ।