आइतवार, श्रावण १५ २०७९
नेपाल वाइड
खोटाङ, १५ साउन । खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ मेग्नेच्युडको भुकम्पले ४७ वटा घर चर्किनुका साथै एक घर भत्किएको छ ।
मानवीय क्षती नभए पनि भूकम्पको केन्द्रबिन्दु मात्तिमविर्तामा मात्र ४५ घर चर्किएको वडाध्यक्ष जीवन न्यौपानेले बताए । मात्तिमविर्ताका दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बस्नै नमिल्नेगरी चर्किएको छ ।
५ वडा रहेको साकेला गाउँपालिकाका अन्य वडामा पनि भूकम्पको क्षतीको विवरण संकलन भइरहेको गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले बताए ।

प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईका अनुसार मात्तिमविर्तामा २७ वटा घर चर्किएको छ । सोही भुकम्पका कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका गंगा राईको घर बस्नै नमिल्नेगरी चर्किएको वडाध्यक्ष कमल गिरीले बताए । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका ध्रुव पौडेलको पुरानो घर चर्किएको छ । २०७२ सालको भूकम्पले चर्किएको सो घर आइतबारको भूकम्पले थप चर्किएको हो ।
हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षती मूल्यांकनका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।
भूकम्प गए लगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलीटी एसेसमेन्टका लागि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह–मन्त्रालयलाई पत्राचार गरेको हो ।
भूकम्पबाट भौतिक एबं मानवीय क्षतीको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगरप्रमुख बिमला राईले बताईन् ।