आइतवार, श्रावण २२ २०७९
नेपाल वाइड
खोटाङ, २२ साउन । कृषिविज्ञ मदन राईले डा. बाबुराम भट्टराईको साथ छाडेका छन् । डा. भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरेपछि राईले सल्लाहमै अलग भएको घोषणा गरेका हुन् ।
भट्टराईको सन्दर्भ आउँदा खुलेर प्रशंसा गर्दैआएका राई नेपाल समाजवादी पार्टीमै रहने आँकलन थियो । उनी जनता समाजवादीका केन्द्रीय सदस्य थिए ।
कृषिविज्ञ राईले आगामी दिनमा ‘क्याडरलेस–पिपुलबेस’ र प्रत्यक्ष लोकतन्त्रको पक्षमा लाग्ने पछिल्लो पुस्तालाई समय, ज्ञान र धनले साथ दिने बताएका छन् । कांग्रेसको रानीति छाडेर १६ वर्षसम्म स्वतन्त्र बसेका राई २०७२ सालमा भट्टराईसँग जोडिएका थिए ।
युवा अभियान्ता सुर्य राईको साथमा मदनले खोटाङमा शुभम फाउण्डेसनमार्फत जीवनोपयोगी शिक्षाको अभ्यास गरिरहेका छन् ।
“क्याडर पावरको राजनीति मलाई पिडापुर्ण थियो । सेवामुखी र परिवर्तनको राजनीति मैले छोड्न सकिनँ ।
भट्टराई पावर र मिसमासतिर तानिनु भो । मेरो बिचारले मानेन । हामी सल्लाहमै अलग बाटो लाग्ने निधो गर्यौं” राईले लेखेका छन्, “७ बर्षमा हाम्रो टिमबाट मैले धेरै सिकें, सिकाएँ पनि । प्रयास पास भएन तर अभ्यास धेरै भए । राम्रा भए । अरुलाइ सहयोग गर्न धेरै काम लाग्नेछन् ।”