आइतवार, श्रावण २२ २०७९
नेपाल वाइड
खोटाङ, २२ साउन । सुक्खा पहिरो जाँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा गाउँ नै जोखिममा परेको छ । ठूलो पाखा पहिरोको रुपमा खस्दा जलेश्वरी माझगाउँका १८ घर परिवार जोखिममा परेको हो ।
माझगाउँको अर्को पाटोको भीर पाखो शनिबार राती ठूलो सुक्खा पहिरोको रुपमा खसेको हो । करिब चार सय मिटर फैलिएको पहिरो करिब सात सय मिटर तल मेकुखोलामा थुप्रिएको छ । पहिरोका कारण वस्ती मात्र नभएर स्थानीय जनकल्याण आधारभुत विद्यालय जोखिममा परेको व्यवस्थापन समिति अध्यक्ष धनकुमार राईले बताए ।
पहिरोका कारण रुद्रबहादुर राई, अधिराज राई, ललितकुमार राई, चन्द्रबहादुर राई लगायतको घर पहिरोको उच्च जोखिममा परेको छ । उनीहरुको घरबाट करिब ५०/६० मिटरको दुरीमा पहिरो आइपुगेको छ ।

विद्यालयको खेलमैदान नजिकसम्म पहिरो गएपछि विद्यार्थी त्रासमा छन् । विद्यार्थी पहिरोमा खस्ने त्रासले पहिरोको डिलमा घोराबारा हालिएको छ । सो पहिरोले दिप्दीमावा–माझगाउँ–देल्बाया सडकको करिब दुई सय मिटर भाग बगाएको छ । केही मुनिबाट सुरु भएको अर्को पहिरोले समेत माझगाउँ जोखिममा पारेको छ ।
दुई/तीन वर्षदेखि सामान्य धाँजा फाटेको पाखोमा सामान्य वर्षाकैबीच पहिरो गएको हो । विगतमा सामान्य पहिरो खस्ने गरेकामा यसपल्ट ठूलो पाखा खसेको हो । पहिरो गाउँको ठीक अर्को पाटोमा पर्ने भएकाले मानवीय क्षती भने भएको छैन । “विद्यालय बन्द गर्ने की भनेर सल्लाह गरियो । तर होसियारीका साथ कक्षा सञ्चालन गर्ने निर्णयमा पुगियो,” विव्यास अध्यक्ष राईले भने, “पहिरो रोकिएन भने ठूलो जोखिम निम्तिएको छ ।”

पहिरोको जोखिममा परेको जनकल्या आवि । तस्बीरहरु सौजन्यः अरुण राई