Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हुर्लुङ–जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता

    हुर्लुङ–जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता


    • मंगलवार, श्रावण २४ २०७९

    • नेपाल वाइड


    हुर्लुङ–जालपा सडक ग्राभेलमा ढिलासुस्ती, पहिरो पन्छाउन ठेकेदारको बेवास्ता
    हुर्लुङ–जालपा सडकको हौंचुर पोखरीमा खसेको पहिरो । तस्बीरः दमन राई

    खोटाङ, २४ साउन । खोटाङको हुर्लुङ–जालपा (८ किलोमिटर) सडक मा खसेको पहिरो पन्छाउन निर्माण कम्पनीले बेवास्ता गरेको पाइएको छ ।

    जिल्लाको उत्तरी पालिका जोड्ने हुर्लुङ–जालपा सडक ग्राभेलको ठेक्का लिएको निर्माण कम्पनी रौता सुुसन आदित्य जेभीले वर्षा याममा सडकका विभिन्न ठाउँमा झरेको पहिरो पन्छाउनमा बेवास्ता गरेको हो । २४ महिनामा पुरा गर्नेगरी रौता सुुसन आदित्य जेभीले २०७८ साल भदौ ३१ मा सडक ग्राभेलको ठेक्का सम्झौता गरेको थियो ।

    ठेक्का लागिसकेको सडकमा आउने अवरोध हटाउने जिम्मेवारी सम्वन्धित निर्माण कम्पनीको हुन्छ तर रौता सुुसन आदित्य जेभीले बेवास्ता गरेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाले सडकको अवरोध हटाइरहेको छ । अवरुद्ध सडक खुलाउने क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ८०० लिटर तेल खर्च भइसकेको छ ।

    हुर्लुङ–जालपा सडक अवरुद्ध हुँदा केपिलासगढी र ऐसेलुखर्क गाउँपालिका सडक सञ्जालबाट विच्छेद हुने गरेको छ । गत १७ असार यताको वर्षाले पटक–पटक हुर्लुङ–जालपा सडक अवरुद्ध भएको छ ।

    सो सडक खण्ड अन्तरगत हौंचुर पोखरीमा तेश्रोपल्ट खसेको पहिरो १८ साउनमा पन्छाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका वडाध्यक्ष दानबहादुर राईले बताए । सडक हिलाम्मे हुँदा यात्रा उत्तिकै कष्टकर हुनेगरेको छ ।

    रौता सुुसन आदित्य जेभीले ४१ प्रतिशत कम रेटमा प्रदेश १ पुर्वाधार विकास मन्त्रालयको १२ करोड ७२ लाख ९२ हजारमा ठेक्का लिएको हो । तर सडक ग्राभेलको काममा निर्माण कम्पनीको चरम ढिलासुस्ती देखिएको छ ।

    ठेक्का सम्झौता गरेको वर्षदिनमा निर्माण कम्पनीले हुर्लुङबाट करिब एक/डेढ किलोमिटर मात्र ग्राभेल गरेको छ । हुर्लुङ–जालपा सडक स्वीस सरकार र नेपाल सरकारको लगानीमा खोलिएको थियो ।

    सम्बन्धित समाचार