बुधवार, श्रावण २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ साउन । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५ असारमा बसेको बैठकको निर्णय तथा गाउँपालिकाको गाउँ प्रहरी व्यवस्थापन कार्यविधि २०७५ अनुसार एक महिला र दुई पुरुष गाउँ प्रहरीको पदपुर्ति भर्नाका लागि ७ असारमा आवेदन खुलाइएको थियो ।
२१ असारसम्म दरखास्त म्याद दिइएकोमा २९ पुरुष र ७ महिलाको आवेदन परेको गाउँपालिकाले जनाएको छ । गाउँ प्रहरी छनौटका लागि आगामी २८ साउनमा परीक्षा सञ्चालनको तयारी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले बताईन् ।
ऐसेलुखर्क गाउँपालिकाले कार्यालय सहयोगी सरह सेवा सुविधा पाउनेगरी १४ फागुन २०७६ मा जिल्लामै पहिलोपल्ट तीन जना गाउँ प्रहरी भर्ना गरेको थियो ।
तर कार्यसम्पादनमा चित्त नबुझेको भन्दै दुई गाउँ प्रहरीलाई सेवाबाट हटाएको केही समयपछि पदपुर्ति गर्न लागिएको हो । हाल गाउँपालिकामा एक जना मात्र गाउँ प्रहरी कार्यरत छन् । गाउँपालिकाले चार जना गाउँ प्रहरीको दरबन्दी सिर्जना गरेको छ ।