बुधवार, श्रावण २५ २०७९
नेपाल वाइड
खोटाङ, २५ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अनुमति नलिइ नेपाल बाल मन्दिरको नाममा रहेको जग्गामा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माण गरेको खुलेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको रत्नपार्कमा ४ करोड बढी खर्च गरेर बनाइएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको जग्गामा नेपाल बाल संगठन केन्द्रीय कार्यालय, बाल मन्दिर, नक्साल, काठ्माडौंले आफ्नो स्वामित्व दावी प्रस्तुत गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय र नगरपालिकासँगको साझेदारीमा ४ करोड ३७ लाख ८४ हजार ७५१ रुपैयाँको लागतमा रत्नपार्कमा सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।
नेपाल बाल मन्दिरको नाममा रहेको कित्ता नम्बर ११६४ मा पर्ने १ रोपनी ७ आना ३ पैसा २ दाम जग्गामा बिना अनुमति व्यवसायीक भवन बनाएर भाडामा लगाइ अनाधिकृत प्रयोग गरेको भन्दै बाल संगठनले लिखित रुपमा जग्गा फिर्ताको माग गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
नेपाल मन्दिरको नाममा रहेको जग्गामा अनुमतिबिना व्यापारिक भवन तथा बालबालिकाको खेलमैदान निर्माण गरी भाडामा दिन लागेको बारे मौखिक जानकारी प्राप्त भएपछि नगरपालिकालाई रोक्का गर्न पत्राचार गर्दा हालसम्म प्रत्युत्तर प्राप्त नभएको बाल संगठनका कार्यकारी अधिकृत अजयकुमार शाहले लेखेको पत्रमा उल्लेख छ । जिल्ला मालपोत कार्यालय खोटाङले सो जग्गा नेपाल बाल मन्दिरको नाममा रहेको पूष्टि गरेको छ ।
सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत ३ फागुनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका तत्कालिन मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राईले उद्घाटन गरेका थिए । निर्माण कम्पनी उमा–लामा–अनशुबी जेभीले ठेक्का लिएको सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क गत ६ जेठ २०७८ मा शिलान्यास गरिएको थियो ।
सपिङ कम्प्लेक्सको तल्लो तलामा १४ वटा सटर र माथिल्लो तलामा रेष्टुरेण्ट हल, विभिन्न स्टल सञ्चालन गर्न मिल्ने संरचना बनाइएको छ । भाडावापत मासिक न्यूनतम २ लाख ९७ हजार राजस्व संकलन गर्ने श्रोतकारुपमा विकास गर्नेगरी दुई तले सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्क निर्माण गरिएको हो ।
व्यवसायीक प्रयोजनका लागि निर्माण गरिएको सपिङ कम्प्लेक्सको माथिल्लो तलाको पछाडिपट्टि चिल्ड्रेनपार्क निर्माण गरिएको छ । चिल्ड्रेनपार्कका लागि केटाकेटी खेल्ने स्वीमिङ पुल, कोलम्वस राईड (पिङ), स्वीङराईड लगायतका संरचना तयार पारिएको छ ।
यद्यपी, सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कको मैदान गत असार पहिलो साता सामान्य वर्षाकै कारण भासिएपछि निर्माण कम्पनीले मर्मत गरेको थियो । सपिङ कम्प्लेक्स र चिल्ड्रेनपार्कलाई ५ वर्षका लागि भाडामा दिनका लागि नगरपालिकाले २ फागुनमा न्यूनतम २ लाख ९७ हजारको ठेक्का आव्हान गरेको थियो । तर चिल्ड्रेनपार्कको भाडा अझै लाग्न सकेको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको २ भदौ २०७७ को सूचनामार्फत माग भएको पर्यटन पुर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको २९ माघको निर्णय अनुसार साझेदारी आयोजनाकारुपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनौट भएको थियो ।