शनिवार, श्रावण २८ २०७९
नेपाल वाइड
खोटाङ, २८ साउन । बाँदरको टोकाईबाट खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ काफ्लेगाउँका १२ वर्षीय नातीकाजी कट्वाल घाइते भएका छन् ।
शुक्रबार मकै बारीमा हुल बाँधिएर पसेको बाँदर धपाउने क्रममा कट्वाललाई लाखुले टोकेको हो । बाँदरको टोकाईबाट देब्रे खुट्टाको पिँडुलाको अगाडि र पछाडि गहिरो चोट लागेका कट्वालको टेकु अस्पतालमा उपचार भइरहेको लफ्याङका वडाध्यक्ष दिनेश घिमिरेले बताए ।
बाँदरको टोकाईबाट सख्त घाइते भएका कट्वालाई जिल्ला अस्पतालले रेफर गरेपछि काठ्माडौं लगिएको हो । स्थानीय देबिस्थान सामुदायिक बन आसपासको मकैबारीमा पसेको बाँदर धपाउने क्रममा उनलाई टोकेको हो । धपाउन गएका मान्छेलाई नै बाँदरले टोकेपछि स्थानीय त्रसित छन् । १० स्थानीय तह रहेको खोटाङका अधिकांश ठाउँमा बाँदरको समस्या छ ।
२०७५ फागुनमा बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्याउने भन्दै भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी ल्याएर लफ्याङको छार्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो ।
नगरपालिकाकै आर्थिक सहयोगमा लफ्याङमा ७ फागुन २०७५ देखि ‘बाँदर समाउ’ अभियान थालिएको थियो । तर निकुञ्जमा लैजान भन्दै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले जटिलता आइपरेको थियो ।