मंगलवार, श्रावण ३१ २०७९
नेपाल वाइड
खोटाङ, ३१ साउन । महिला जनप्रतिनिधिको क्षमता बिकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम गरिएको छ ।
गत बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित महिला जनप्रतिनिधिको नेतृत्व बिकासका लागि ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना अन्तरगत हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा महिला नेतृत्व कार्यक्रम सम्वन्धी दोश्रो चरणको अभिमुखीकरण कार्यक्रम गरिएको हो ।
निर्वाचित जनप्रतिनिधिलाई आफनो हक, अधिकार र काम कर्तव्यको बारेमा जानकारी दिँदै व्यक्तिगत रुपमा क्षमतावान बनाउने लक्ष्यका साथ विभिन्न दातृ निकायको सहयोगमा दलित महिला केन्द्र नेपालको आयोजनामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।
गत साउन ९ गते हलेसी तुवाचुङ नगरपालिकाबाट सुरु गरिएको अभिमुखीकरण कार्यक्रम मंगलबार दिप्रुङ चुईचुम्मा गाउँपालिका पुगेर टुंगिएको छ ।
अभिमुखीकरणमा हलेसी तुवाचुङ नगरपालिकाका २३ जना, रावाबेसी गाउँपालिकाका १० जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाा ३१ जना र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका १३ जना महिला जनप्रतिनिधिले सहभागीता जनाएका छन् ।
अभिमुखीकरण कार्यक्रममा नेतृ एबं अधिकारकर्मी दुर्गाजयन्ती राई र लक्ष्मीकुमार राईले सहजीकरण गरेका थिए । खोटाङका १० स्थानीय तहमध्ये आठ पालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन भइरहेको छ ।
हलेसी तुवाचुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, रावाबेसी, दिप्रुङ चुईचुम्मा, साकेला, ऐसेलुखर्क, खोटेहाङ र जन्तेढुंगा गाउँपालिकामा परियोजना सञ्चालन भइरहेको छ ।
कोभिड–१९ को संक्रमणका कारण साकेला गाउँपालिकाको महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण कार्यक्रम पछि सारिएको परियोजना अनुगमन मूल्यांकन संयोजक बुना बिश्वकर्माले बताईन् ।
ऐसेलुखर्क, खोटेहाङ र जन्तेढुंगा गाउँपालिकालाई भने कार्यक्रमका लागि पछि छनौट गरिएको हो । २०७४ सालमा निर्वाचित महिला जनप्रतिनिधिका लागि २०७७ सालमा पहिलो चरणको नेतृत्व बिकास सम्बन्धी तालिम सञ्चालन गरिएको थियो ।
कार्यक्रममार्फत महिला जनप्रतिनिधिलाई आफनो भुमिका र जिम्मेवारीको बारेमा जानकारी दिँदै व्यक्तिगत उत्थानशिलताको बिकास, समस्यको बिश्लेषण क्षमता बिकासमा सघाउ पु¥याउने लक्ष्य राखिएको छ ।
‘सबै निर्वाचित महिला जनप्रतिनिधिलाई आफ्नो काम, कर्तव्य र अधिकारको बारेमा जानकारी नहुनसक्छ । जसका कारण महिला जनप्रतिनिधिको कार्यकालमा बाधा पुग्ने हुनसक्छ,’ बिश्वकर्माले भनिन्, ‘त्यस कारण कार्ययोजना प्रस्तुतीदेखि राजनिति तथा निर्णय प्रकृयामा महिला सहभागीताको महत्वलाई बुझाउनको लागि जोड दिने गरेका छौँ ।’
दलित महिला केन्द्र नेपालले स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडिसि) र अष्ट्रेलियन गभर्नमेन्ट डिपार्टमेन्ट अफ फरेइन अफेयर्स एण्ड ट्रेडको आर्थिक सहयोग तथा आइएफईएससँगको सहकार्यमा प्रदेश १ को खोटाङ, ओखलढुंगा, मोरङ, सुनसरी र झापाका ३९ पालिकामा ‘शी लिड्स–महिला नेतृत्व’ परियोजना सञ्चालन गरिरहेको छ ।