Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    मेयर र सिडियो पुगे अनुगमनमा

    भुत्ते–आयुर्वेद सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र

    भुत्ते–आयुर्वेद सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र

    प्रमुख जिल्ला अधिकारी सेढाईले निर्माणस्थलबाट फोन सम्पर्क गरेर निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न निर्देशन

    • बुधवार, भाद्र ८ २०७९

    • नेपाल वाइड


    भुत्ते–आयुर्वेद सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र
    अलपत्र परेको दिक्तेलस्थित भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अवलोकन गर्दै मेयर तीर्थराज भट्टराई, प्रजिअ सुर्यप्रसाद सेडाई लगायत । तस्बीरः दमन राई

    खोटाङ, ८ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको छ ।

    शहरी विकास मन्त्रालयको २३ लाख ६८ हजार रुपैयाँमा निर्माण कम्पनी जेपी–लगलगे जेभीले ठेक्का लिएको सडकको ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको हो । निर्माण कम्पनीले सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र छाड्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।

    सडक ढलानका क्रममा रड बाँधेर छाड्दा पानी पँधेरा, गाउँबेँसी, हाटबजार गर्नदेखि विद्यालय, स्वास्थ्य कार्यालय लगायतमा जान आउन समस्या भएको स्थानीय भुवनप्रसाद आचार्यले बताए ।

    रड बाँधेर धरापजस्तो असरल्ल छाडिएको प्वालमा खुट्टा अल्झिएर स्थानीय लड्ने गरेका छन् । कतिपयलाई चोट पटक लागेको स्थानीय बताउँछन् । विद्यार्थीलाई बढी समस्या परेको छ । बाँधिएको रडमा अल्झिएर गाईवस्तुको खुट्टा भाँचिएको स्थानीय राधिका आचार्य बताउँछिन् ।

    गत २०७९ बैसाख १९ गतेभित्र सक्नेगरी जेपी–लगलगे जेभीले २०७८ माघ २० गते भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको सम्झौता गरेको थियो ।

    सो खण्डमा ८०.६६ घनमिटर आरसिसि ढलान, ९१.५७ घनमिटर सोलिङ र ८४.७५ घलमिटर मेसिनरी वाल हाल्नुपर्ने सम्झौता छ । गत असारसम्ममा १४ लाख ८४ हजार ६६४ (करिब ६० प्रतिशत) भुक्तानी भएको सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका इन्जिनियर सञ्जयकुमार चौधरीले बताए ।

    हालसम्म सो आयोजनाको भौतिक प्रगती करिब ७० प्रतिशत मात्र पुरा भएको कार्यालयले जनाएको छ । कार्यालयको स्टीमेट ४२ लाख ३२ हजार २३१ रुपैयाँ भए पनि निर्माण कम्पनीले करिब ४६ प्रतिशत कममा ठेक्का लिएको हो । गत असारसम्म म्याद थप भएको आयोजनाको सार्वजनिक खरिद १२ औं संशोधन नियमावली २०७९ अनुसार एक वर्ष म्याद थप भएको छ ।

    मेयर र सिडियो पुगे अनुगमनमा

    भुत्ते–आयुर्वेदको कार्यालय सडक ढलान तथा ग्राभेलिङको काम अलपत्र परेको जनगुनासो आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाई बुधबार निरिक्षणमा पुगेका छन् ।

    प्रमुख जिल्ला अधिकारी सेढाईले निर्माणस्थलबाट फोन सम्पर्क गरेर निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् । बिहिबार बेलुकासम्ममा काम सुरु नगरे निर्माण व्यवसायीलाई पत्राचार गर्ने र पक्राउ गरेर कारबाही गरिने मेयर भट्टराईले बताए ।

    मेयर भट्टराई र प्रजिअ सेढाईलाई स्थानीयले सडकको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई खोजतलास गरी अवरुद्ध काम अघि बढाउने वातावरण बनाउन लिखित माग राखेका छन् । स्थानीयले कामदारलाई समेत अलपत्र पारेको बताएका छन् ।

    नगरपालिकाले सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने जेपी–लगलगे जेभी सहित रौताहा/सुसम/आदित्य जेभी र ढुकुचु/बगाले थापा/विएनटि जेभीलाई गत २६ साउनमा पत्र पठाउँदै हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो ।

    जेपी–लगलगे जेभीले ठेक्का लिएको हाटडाँडा–काफ्लेगाउँ–घुम्ती सडक र दोर्पा–दुम्ली सडक सेक्सनको ढलान तथा ग्राभेलिङको काम पनि सुस्त छ । २०७९ जेठ १९ गतेसम्ममा पुरा गर्नेगरी २०७८ माघ २० गते हाटडाँडा–काफ्लेगाउँ–घुम्ती सडकको सम्झौता भएको थियो ।

    सो खण्डमा १५ घनमिटर ढलान, २२६.२६ घनमिटर सोलिङ, २८५.४६ घनमिटर मेसिनरीवाल र ८८ घनमिटर ग्याविन वाल हाल्नुपर्ने सम्झौता छ । तर गत असार २५ गतेसम्ममा १० लाख मात्र भुक्तानी भएको छ । ८५ लाख ९ हजार ९४० रुपैयाँ लागत स्टीमेट भए पनि जेपी–लगलगे जेभीले ४६ लाख २२ हजार ६० मा ठेक्का पारेको हो ।

    यस्तै, २०७९ बैसाख १९ गते सक्नेगरी २०७८ माघ २० गते दोर्पा–दुम्ली सडकको ठेक्का सम्झौता गरिएको हो । तर गत असारसम्मा हालसम्म ४ लाख ८० हजार मात्र भुक्तानी भएको छ ।

    सो खण्डमा ९५.३७ घनमिटर ढलान, ३६.१८ घनमिटर मेसिनरी वाल र १०४.५५ घनमिटर स्टोन सोलिङ गर्नुपर्ने सम्झौता छ । ८२ लाख ३६ हजार ४७३ लागत स्टीमेट भएको आयोजनाको काम २५ लाख १८ हजार २४९ रुपैयामा ठेक्का लागेको इन्जिनियर चौधरीले बताए ।

    llll.jpgअलपत्र परेको दिक्तेलस्थित भुत्ते–आयुर्वेदको कार्यालय सडक ।

    सम्बन्धित समाचार