शुक्रवार, भाद्र १० २०७९
नेपाल वाइड
खोटाङ, १० भदौ । खोटाङमा ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरिएको छ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेस जिल्ला कार्य समिति खोटाङले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको हो । अभियान शुक्रबार कांग्रेसको पार्टी कार्यालय विपी स्मृति भवनमा केन्द्रीय सदस्य तारामान गुरुङले उद्घाटन गरेका छन् ।
‘जनताको साथमा कांग्रेस’ अभियान आगामी २४ भदौसम्म सञ्चालन हुने छ । यद्यपी, चुनाव लक्षित गतिविधि भने जारी राख्ने कांग्रेसले जनाएको छ । वडा–वडामा पुगेर जनतालाई भेट गरी निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्नका लागि अभियान चलाइएको केन्द्रीय सदस्य गुरुङले बताए ।
‘जनतासँग छलफल गर्ने, उहाँहरुको गुनासो सुन्ने, भावना बुझेर पार्टीको पक्षमा माहोल सिर्जना गर्न अभियान थालिएको हो,’ गुरुङले भने, ‘राजनैतिक, आर्थिक, समसायमीक विषयमा कांग्रेसले लिएको अडानको विषयमा जनतालाई सुसूचित गर्ने, चुनावी तालमेलको औचित्य बारे स्पष्ट पार्ने छौँ ।’ जनताको समस्या र सुझाव समेटेर प्रतिबेदन तयार पारेर केन्द्रमा लगिने गुरुङको भनाई छ ।
कांग्रेसभित्र आन्तरिक द्धन्द्ध छ । त्यही द्धन्द्ध अन्त्य भएको सन्देश दिनका लागि केन्द्रीय सदस्य गुरुङ सहितका नेताले उभिएर आपसमा हातेमालो गर्दै तस्बीर खिचाएका थिए । तर हातेमालो देखावटी भएको भन्दै कांग्रेसकै कार्यकर्ताले पत्याएका छैनन् ।
कारण यसअघि पनि आन्तरिक कलह अन्त्य भएको सन्देश दिन भन्दै पटक–पटक यस्ता हातेमालो गरिएको थियो । ‘जनताको साथमा कांग्रेस’ अभियानका लागि कांग्रेसले प्रदेशबाट प्रदेश सभा ‘क’मा कमला गुरुङ र प्रदेश सभा ‘ख’मा सबिता राईलाई प्रतिनिधि पठाएको छ ।