शनिवार, भाद्र १८ २०७९
नेपाल वाइड
खोटाङ, १८ भदौ । खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारको सडक ढलानको काममा निर्माण कम्पनीको लापरवाही देखिएको छ । जिल्लाकै पुरानो बजार मानिने खोटाङबजारभित्रको सडक ढलान तथा डिबिएसटी पिचको काममा निर्माण कम्पनी धुलीखेल निर्माण सेवाले चरम ढिलासुस्ती गरेको र काम पनि गुणस्तरहीन गरेको स्थानीयको आरोप छ ।
प्रदेश सरकारको मुअकरबाहेक २ करोड ६९ लाख २५ हजार ७९७ को लागतमा धुलीखेल निर्माण सेवाले खोटाङबजार सडक ढलान तथा डिबिएसटी पिचको काम सुरु गरेको थियो । ३० असार २०७८ मा सक्नेगरी ३० असार २०७७ मा खोटाङबजार रोड कन्ट्रक्सन आयोजनाको ठेक्का लागेको थियो ।
खोटाङबजारभित्र करिब सात सय मिटर आरसिसि ढलान र करिब छ सय मिटर डिबिएसटी कालोपत्रे गर्नुपर्ने सम्झौता छ । तर सडक ढलानका क्रममा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरिएको, मापदण्ड अनुसारको दुरीमा रडको जाली नराखिएको, ढलानअघि राखिएको सोलिङ राम्ररी नगरिएको खोटाङबजारका वडाध्यक्ष शिवप्रसाद फुयाँलले बताए ।

सुरुमा खोटाङबजारमा डिबीएसटी कालोपत्रे गर्नेगरी डिपिआर तयार पारिएको थियो । तर डिबीएसटी गर्नेक्रममा रोलरको थर्कनले बजारका घरहरुलाई असर गर्ने भन्दै डिजाइन परिवर्तन गरेर घरहरु भएको क्षेत्रमा ढलान र घर नभएको ठाउँमा डिबिएसटी पिच गर्नेगरी काम अघि बढाइएको थियो ।
परिवर्तित डिजाइन अनुसार २ नम्बर धारादेखि ईलाका प्रशासन कार्यालयको गेट र बजार पुछारसम्म ढलान तथा २ नम्बर धारादेखि गाउँपालिकाको कार्यालयसम्म डिबिएसटीको काम अघि बढाइएको हो । आरसिसि ढलानको काम अन्तिम चरणमा पुगेपनि पिचको काम सुरु भएको छैन । निर्माण कम्पनीले दुईपल्ट थप भएको म्याद गुजारीसकेको शहरी विकास तथा भवन कार्यालय, ओखलढुंगाका इन्जिनियर धिरज शाहले बताए ।
सम्झौता म्याद नाघेको वर्षदिन वितिसक्दा बल्ल आयोजनाको करिब ६० देखि ७० प्रतिशत मात्र काम सकिएको छ । निर्माण कम्पनीले कोभिड–१९ को महामारीका कारण सरासर काम गर्न नपाएको बताउँदैआएको छ ।
शाहले गुणस्तरहीन काम भएको भनिएको ठाउँमा गत असारमा केही ठाउँमा ढलान फुटाउन लगाएको तर गुणस्तरका विषयमा कसैले गुनासो नगरेको बताए । उनले योजनाको सुरुवाती चरणमा केही स्थानीयले ५/१० प्रतिशत पैसा मागेको दावी गरे ।
‘ठूलो योजनामा बालुवा, गिटी तलमाथि भइनै हाल्छ । कहीँ कहीँ फुटाउन लगाएर फेरी गर्न लगाएको छु । बील पनि रोकेको छु,’ शाहले भने, ‘एक वर्षसम्म त उसको १० पर्सेन्ट धरौटी हुन्छ । ढलान राम्रो नभए फुटाउने हो, काम गराउने हो । अहिलेसम्म त्यस्तो केस परेको छैन । बिग्रेछ भने उनीहरुले नै बेहोर्छ, धरौटी जफत हुन्छ ।’
बिक्रम संबत २०२० सालसम्म सदरमुकाम रहेको खोटाङबजारको सडक ढलानमा भइरहेको लापरवाहीका विषयमा स्थानीय सरकारदेखि प्रदेश र संघीय सांसद बेखबरझैं देखिएका छन् । खोटाङबजार प्रदेश १ का खानेपानी, सिँचाई तथा उर्जा मन्त्री रामकुमार राई (पासाङ)को निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईको गृह–वडा हो ।