आइतवार, भाद्र १९ २०७९
नेपाल वाइड
खोटाङ, १९ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले (१०.९७४ किलोमिटर) सडक कालोपत्रेको काम तत्काल सुचारु गराउन माग गरेका छन् ।
हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिको अगुवाईमा गएको स्थानीयले आइतबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन–पत्र बुझाउँदै दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु गर्न/गराउन माग गरेका हुन् ।
२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको डिबिएसटी कालोपत्रेको काम अलपत्र परेपछि स्थानीय बिरोधमा उत्रिएका हुन् । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले आगामी २६ भदौभित्र काम सुचारु गराउनका लागि ध्यानाकर्षण गराएका छन् ।
स्थानीय सरकार, प्रशासन लगायतका निकायले आँखा चिम्लिरहने हो भने सडक कालोपत्रेको काम पुरा हुने अवस्था नदेखिएको हाटडाँडा टोल पुर्वाधार विकास तथा व्यवस्थापन प्रवद्र्धन समितिका अध्यक्ष किसनकुमार राईले बताए ।
सडक कालोपत्रेको काम अलपत्र छाड्दा दिक्तेलबजारको व्यापार व्यवसायमा असर परेको, कालिका भगवती दर्शन गर्न आवज जावत गर्ने दर्शनार्थीलाई कठिनाई भएको ज्ञापन–पत्रमा उल्लेख छ । ‘विगत एक वर्षभित्र ठेकेदारले मेसिन तथा औजारहरु फिर्ता लगिसकेको छ ।
अहिले क्रसर मात्र बाँकी छ । क्रसरबाट उत्पादित गिटी अन्य बिक्रीवितरण गरिरहेको छ,’ अध्यक्ष राईले भने, ‘जनतालाई बारम्बार ढाँटछल गर्ने काम भएको छ । वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा जनस्वास्थ्यमा खेलवाड भएको महसुस गरेका छौँ ।’
शुक्रबार हाटडाँडा क्षेत्रका १८१ जनाको उपस्थितिमा भएको बैठकको निर्णय अनुसार स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, उपमेयर बिसन राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राईलाई ज्ञापन–पत्र बुझाउँदै काम तत्काल चालु गराउन ध्यानाकर्षण गराएका हुन् । तोकिएको समयभित्र कालोपत्रेको काम सुचारु नभए दोश्रो चरणको आन्दोलन सुरु गरिने स्थानीय अगुवा मनोज राईले बताए ।
दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुःननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो ।
तर हालसम्म कालोपत्रेको करिब ६० प्रतिशत मात्र प्रगती भएको छ । अस्पतालचोकबाट हाटडाँडा (केशव बस्नेतको घर)सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ ।
राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार)को कार्यालय खोटाङले सो आयोजना हेर्दैआएको थियो । सो कार्यालयलाई प्राधिकरणले स्थानीय पुर्वाधार बिभाग (डोली)लाई हस्तान्तरण गरेपछि काममा समस्या भएको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए ।