Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द

    नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द


    • शुक्रवार, भाद्र २४ २०७९

    • नेपाल वाइड


    नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द
    वडाले दिने सेवा बन्दको सुचना टाँस गर्दै वडाध्यक्ष लिला चौहानलगायत वडा सदस्यहरु ।

    खोटाङ, २४ भदौ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको सेवा अनिश्चित कालका लागि बन्द गरिएको छ । वडाको विकास निर्माणमा नगरपालिकाले ठाडो हस्तक्षेप गरेको भन्दै वडाध्यक्ष लिलाकुमार चौहान र चार वडा सदस्यले शुक्रबारदेखि वडाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेका हुन् ।

    फरक दलले जितकै कारण वडालाई योजना नदिने, सम्पन्न भइसकेका योजनाको भुक्तानी रोक्का गर्ने, वडा कार्यालयले गरेका सम्पूर्ण कार्यहरुमा अवरोध गर्ने र दुःख दिने, कर्मचारी हेरफेर गरेकाले वडाको औचित्यमाथि प्रश्न उठेकाले सेवा बन्द गर्नुपरेको वडाध्यक्ष चौहानले बताए ।

    गत ३० बैसाखको स्थानीय तहको निर्वाचनमा गठबन्धनका वावजुद दोर्पाचिउरीडाँडामा चौहान सहित पाँच जनप्रतिनिधि एमालेबाट निर्वाचित भएका हुन् । नगरपालिकामा गठबन्धनबाट कांग्रेसका तीर्थराज भट्टराई मेयर र माओवादी केन्द्रका बिसन राई उपमेयरमा बिजयी भए ।

    मेयर भट्टराई र उपमेयर राईले अभिभावकको भूमीका निर्वाह गर्नुपर्नेमा दलगत र समुहगत रुपमा वडालाई पक्षपातपूर्ण व्यवहार गर्नु दुःखद र संघीयता बिरोधी कार्य भएको चौहानले बताए ।

    मेयर र उपमेयरले लिखितरुपमा वडामा हस्तक्षेप नगर्ने प्रतिवद्धता नजनाएसम्मका लागि वडा कार्यालयबाट प्रवाह हुने सेवा अनिश्चितकालका लागि बन्द गरिएको प्रेस विज्ञाप्तीमा उल्लेख छ ।

    ‘गठबन्धनको उम्मेदवारले नजितेकै कारण समग्र वडाबासीलाई अशर पार्नेगरी हस्तक्षेप गरेर कानूनी राज्यको खिल्ली उडाइएको छ,’ वडाध्यक्ष चौहानले भने, ‘नगरपालिकाको हस्तक्षेपबाट वडाले गर्ने काम, कर्तव्य र अधिकार प्रयोग गर्न सक्ने कुनै आधार देखिँदैन ।

    वडा कार्यालय सञ्चालन गर्नुपर्ने आवश्यकता र औचित्यमाथि प्रश्न चिन्ह खडा भएको छ ।’ फरक अस्था र विचार राख्ने करारका कर्मचारीलाई विना जानकारी हटाउँदा वडाको सेवा समेत प्रभावित भएको चौहानले बताए ।

    वडाध्यक्ष चौहानले उपभोक्ता समितिमा आफ्नो कार्यकर्तालाई राख्न नपाएको रिसमा मध्यपहाडी लोकमार्ग–वडा कार्यालय सडक ढलानको काम सम्पन्न भए पनि भुक्तानी रोकेको, खावाडाँडा र वाबारी एकीकृत वस्ती निर्माण, गोल्डेन चक्रपथ निर्माण, स्यालदुलो–तालचौंर सडक, अन्नपूर्ण मावि घेरावारा र पंखु लप्से खानेपानी योजना निर्माणमा अख्तियारमा मुद्धा हाल्न लगाएर अवरोध गरेको आरोप लगाएका छन् ।

    यस्तै, चुच्चेढुंगा दोवेला सिँचाई योजना उपभोक्ता समिति गठनका विषयमा नगरपालिकामा उजुरी हाल्न लगाइएको बताए । वडामा भइरहेका विकास निर्माणमा अवरोध पुर्‍याउन गठबन्धनका स्थानीयलाई योजनावद्ध उजुरी हाल्न उक्साउने गरिएको चौहानले दावी गरे ।

    एमालेबाट निर्वाचित वडाध्यक्ष चौहान एकातिर र सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी अर्कातिर बसेर आक्रमण–प्रत्याक्रमणमा उत्रिएपछि सर्वसाधारण चेपुवामा परेका छन् ।

    स्टीमेट अनुसार सडक ढलान नभएको, अन्नपूर्ण माविको खेलमैदान र घेराबारा बनेको केही समयमै भत्किएको, एकीकृत वस्ती विस्तार योजना अलपत्र परेको लगायतका विषयलाई गठबन्धन दलले उठाउँदै आएको छ । दलीय स्वार्थले द्धन्द्ध सिर्जना भएपछि वडाको विकास निर्माणमा प्रत्यक्ष असर परिरहेको छ । 

    सम्बन्धित समाचार