मंगलवार, भाद्र २८ २०७९
नेपाल वाइड
खोटाङ, २८ भदौ । निमोनियाले सिकिस्त भएपछि सहयोग उठाएर कान्तीबाल अस्पताल पुर्याइएका १६ महिने बालकलाई गाउँपालिका अध्यक्ष र वडाध्यक्षले आर्थिक सहयोग गरेका छन् ।
निमोनियाले बिरामी परेपछि शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा कान्तीबाल अस्पताल लगिएका दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुका १६ महिने बालक रेवन राईलाई सोही गाउँपालिका अध्यक्ष लोकेन्द्र राई र छोरम्बुका वडाध्यक्ष भूपेन्द्र बस्नेतले आर्थिक सहयोग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष राई र वडाध्यक्ष बस्नेतले सोमबार अस्पतालमै पुगेर १०/१० हजार आर्थिक सहयोग गरेका छन् । हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खा बस्दैआएका रोजन राई र मनिला राईको दोश्रो सन्तान रेवनलाई आइतबार राती कान्तीबाल अस्पताल लगिएको थियो ।
श्वास फेर्न गा¥हो भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राती ११.१५ बजे काठ्माण्डौं पठाइएको हो ।
पत्रकारद्धय कृष्णकला राई र सञ्जिव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फण्डबाट एम्बूलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको छ ।
नेकपा एमाले खोटाङ–काठ्माडौं सम्पर्क मञ्चका उपाध्यक्ष कुमारबाबु बस्नेत (टिवी)ले बालकको उपचार व्यवस्थापनमा सहयोग गरिरहेका छन् ।
पत्रकारद्धयले वालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जाल र अनलाइनको पेजमार्फत उजागर गरेका थिए ।
पत्रकार सञ्जिवको मदानीखबरको पोष्ट हेरेपछि शुभेच्छुक चिरञ्जिीवी रिजालबाट ५ हजार, राजकुमार राईबाट ५ हजार, बिमला राईबाट २ हजार र किसन राईबाट १ हजार आर्थिक सहयोग जुटेको थियो ।
बिरामी बालकलाई कान्तीबाल अस्पतालमा भर्ना गरिएको छ । थप उपचारका लागि पिडित परिवारले उपचार सहयोगको याचना गरेका छन् । वालकको उपचारका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।