शुक्रवार, भाद्र ३१ २०७९
नेपाल वाइड
खोटाङ, ३१ भदौ । बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध भएको हो ।
२०६२ साल बैसाख २५ गतेदेखि विद्युत वाल्न सुरु गरिएको लघुजलविद्युत आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत अवरुद्ध भएको हो ।
कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा याममा खोलामा बाढी झर्दा नहरमा क्षती पुग्ने गरेको सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राईले बताए । तापखोलाबाट उत्पादन गरिएको विद्युत सप्तेश्वरका करिब ६०० घरधुरी उपभोक्ताले उपभोग गर्दैआएका थिए ।
तर राष्ट्रिय प्रशारणलाईन विस्तारका कारण हाल सो लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत कम मात्रामा उपयोग हुँदैआएको छ । अवरुद्ध विद्युत सुचारु गराउनका लागि स्टीमेटका लागि प्राविधिक खटाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समिर राईले बताए ।
प्राविधिक स्टीमेटका आधारमा जलविद्युत आयोजनाको नहर मर्मत गर्न आवश्यक आर्थिक सहयोग उपलव्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।
बाढीले नहर बगाउँदा सप्तेश्वरको मालदेल क्षेत्रको सिँचाईमा समेत समस्या भएको छ । विद्युत र सिँचाईका लागि उपयोग हुँदैआएको नहर बाढीले बगाएपछि सिँचाई क्षेत्र प्रभावित भएको हो ।
‘तापखोला मुहान भएको नहरलाई विद्युत उत्पादन गर्न र सिँचाईमा प्रयोग गर्दैआएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘नहरभन्दामाथिबाट कमेरे माटो बगेर बाढीकारुपमा झर्ने गरेको छ । हरेक वर्ष अलिकति पानी पर्ने वित्तिकै बाढी झर्ने गरेको छ ।’