मंगलवार, आश्विन ४ २०७९
नेपाल वाइड
खोटाङ, ४ असोज । नेकपा (एकीकृत समाजवादी) खोटाङ जिल्ला कमाण्डले निर्वाचनको तयारी थालेको छ । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एबं जिल्ला इन्चार्ज बबी चाम्लिङ संयोजकत्वको जिल्ला कमाण्डको मंगलबार बसेको बैठकले आगामी मंसिर ४ गते तोकिएको प्रदेश र संघीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको हो ।
बैठकले जिल्ला अध्यक्ष जलसेर राईको संयोजकत्वमा १५५ सदस्यीय निर्वाचन परिचालन मुल समिति गठन गरेको छ । ७९ वडाका दुई जना प्रतिनिधि पर्नेगरी निर्वाचन परिचालन मुल समिति गठन गरिएको नेकपा (एकीकृत समाजवादी) खोटाङका सचिव राजन आचार्यले बताए ।
यस्तै, निर्वाचन सम्वन्धी प्रतिवद्धता–पत्र तयार पार्नका लागि केन्द्रीय सदस्य एबं पुर्वसांसद कुलप्रसाद फुयाँल, जिल्ला कमिटिका पदाधिकारी, १० पालिका इन्चार्ज, विज्ञ सदस्य रहेको कार्यदल बनाइएको छ । बैठकले आर्थिक विभाग प्रमुख एन्टी शेर्पाको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको छ ।
आर्थिक व्यवस्थापनका लागि खोटाङ–काठ्माडौं सम्पर्क मञ्चलाई पनि परिचालन गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)ले जनाएको छ । नेकपा (एकीकृत समाजवादी)ले दशैं तिहारको अवसरमा घटस्थापनाको दिन जिल्लाका सबै पालिकामा शुभकामना आदान–प्रदान कार्यक्रमको तयारी गरेको छ ।