शुक्रवार, आश्विन ७ २०७९
नेपाल वाइड
खोटाङ, ७ असोज । नजिकिँदै गरेको चाडवाडलाई लक्ष्यित गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले दिक्तेलमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
दशैं तिहार, छठ लगायतका चाडवाडका समयमा यात्रुको सहयोगका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा दिक्तेलबजारको रत्नपार्कस्थित किरातचोकमा यात्रु सहायकता कक्ष सुरु गरिएको हो ।
चाडपर्व विशेष सुरक्षा योजना २०७९ अन्तरगत एक जना नेपाल प्रहरी र एक जना ट्राफिक प्रहरी खटाइएको यात्रु सहायता कक्ष शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले उद्घाटन गरेका हुन् ।
चाडबाडका समयमा यात्रुको अधिक आवत–जावत हुने भएकाले उनीहरुको सहयोग र सुविधाका लागि यात्रु सहायता कक्ष सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
चाडवाडका समयमा आवत–जावत गर्ने यात्रुको हैरानी, दुःख कष्ट, चर्को भाडा दर, क्षमताभन्दा बढी यात्रु हाल्ने लगायतका गुनासो सुन्ने र सुनुवाईका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको हो । ‘चाडवाडका समयमा गाडीको भाडादरमा मनपरी हुनसक्छ ।
यात्रुबाट बढी भाडा उठाइन सक्छ । दुःख, झन्झट र हैरानी दिने, तानातान गर्ने हुनसक्छ,’ डिएसपी मुकारुङले भने, ‘यात्रुले टिकट नपाउने वा बढी भाडा नपाए गाडी लैजान्न भन्ने समस्या आएको अवस्थामा यात्रुको सुविधाका लागि प्यासेञ्जर हेल्पडेस्क खडा गरिएको हो ।’
प्रहरीले मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, सवारी साधन चलाएकोबेला मोबाईल प्रयोग नगर्न, क्षमताभन्दा बढी यात्रु नराख्न, तिब्र गतिमा सवारी साधन नचलाउन, सवारी ऐन र ट्राफिक संकेतको पालना गर्न आग्रह गरेको छ ।