आइतवार, आश्विन २३ २०७९
नेपाल वाइड
खोटाङ, २३ असोज । गठबन्धनको टिकट वितरणमा खोटाङमा कांग्रेसभित्र तिव्र असन्तुष्टी देखिएको छ । प्रतिनिधिसभा माओवादी केन्द्र, प्रदेशसभा (क) नेकपा (एस) र प्रदेशसभा (ख) कांग्रेसको भागमा परेपछि कांग्रेसको जिल्ला नेतृत्वभित्र असन्तुष्टी देखिएको हो ।
स्थानीय तहको मतपरिणामको आधारमा एक प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग गर्दै पुर्वसांसद एबं पुर्व राज्यमन्त्री सर्वधन राई, खोटाङ सभापति बिष्णुकुमार राई, पुर्वसभापति नरेशकुमार श्रेष्ठ, पुर्वसभापति सुवासकुमार पोखरेल, प्रदेश सदस्य जितेन्द्रसिं ठकुरी लगायत २० जनाले शनिबार कांग्रेस केन्द्रीय कार्यालयमा ज्ञापन–पत्र बुझाएका छन् ।
जिल्लाको वस्तुगत यथार्थता र सांगठनिक अवस्थाको विश्लेषण नगरी गरिएको निर्णयले खोटाङ कांग्रेसमा गम्भर आघात पु¥याएको ज्ञापन–पत्रमा उल्लेख छ ।
गठवन्धन जोगाउने नाममा नेकपा (एस)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने भन्दै विद्रोहको तयारी गरेको भनिएको छ । जिल्ला कार्य समितिको बैठक बसेर संघ र दुई प्रदेशमा आफ्नै उम्मेदवार उठाउने तयारी गरिएको कांग्रेस सभापति राईले बताए ।
“हामीले गठबन्धनलाई अवज्ञा गरेको होईन । तर टिकट वितरण न्यायोचित हुनुपर्यो । जिल्लालाई शहीद बनाउनु भएन । कांग्रेसलाई की संघ दिनुप¥यो, की दुई प्रदेश दिनुपर्यो । दुई हजार–एक्काईस सय मत भएको र २६ हजार मत भएको कांग्रेसलाई एउटै क्याटागोरीमा राखियो । त्यसमा हाम्रो आपत्ती हो,” राईले भने, “बैठक राखेर संघ र दुबै प्रदेशमा आफ्नै उम्मेदवारी दिदैछौँ । रुख चिन्ह दिएको भए संघर्ष गर्नै पर्दैनथ्यो । रुखबाट बञ्चित गराइयो । हामी कांग्रेसका मान्छे उठाउँछौँ ।”
गठबन्धनको निर्णय विरुद्धको विद्रोहको सकरात्मक असर अरु जिल्लामा पर्ने राई बताउँछन् । “अरु जिल्लामा यसको सकरात्मक असर पर्दैछ । खोटाङले ठूलो हिम्मत देखायो भन्दैछन् ।
यसको प्रभाव मेची–कालीसम्म जाँदैछ,” उनले भने, “गाउँमा बस्ने कार्यकर्ताले कांग्रेस जोगाउँछ तर काठ्माडौंमा बस्ने, बालुवाटारमा बस्ने कांग्रेसले कांग्रेस जोगाउन सक्दैनरहेछ भन्ने रियलाइजेसन गरिरहेको छ । गठबन्धनको उद्धेश्य नेता नेतृत्वको व्यवस्थापन मात्र नभएर सिंगो पार्टी कार्यकर्ता र जनताको भावनाको समेत व्यवस्थापन हो । कार्यकर्ता र जनभावना विपरित गरिएको निर्णयले पार्टीमा गम्भीर क्षती हुने देखिन्छ ।”