Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा गठबन्धनलाई बागीको तगारो

    खोटाङमा गठबन्धनलाई बागीको तगारो


    • बिहिवार, आश्विन २७ २०७९

    • नेपाल वाइड


    खोटाङमा गठबन्धनलाई बागीको तगारो
    गठबन्धन बिरुद्ध बागी उम्मेदवारी कायम राखेका कांग्रेसका धर्मराज पोखरेल ।

    खोटाङ, २७ असोज । खोटाङमा कांग्रेस नेता धर्मराज पोखरेलको स्वतन्त्र उम्मेदवारी गठबन्धनको अगाडि चुनौती बनेको छ । सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पोखरेलले प्रदेश (क) मा गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दताए गराएका थिए ।

    असन्तुष्ट कांग्रेसकै योजना अनुसार मनोनयन दर्ता गरेका पोखरेल कांग्रेस केन्द्रीय समितिको कारबाही भोग्न तयार भए तर उम्मेदवारी फिर्ता लिन तयार भएनन् । उनी चुनाव चिन्ह पानीको धारा लिएर चुनावी कार्यक्रममा निस्कने तरखरमा छन् ।

    एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभा मध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएको भन्दै कांग्रेसका पोखरेल सहित पुर्व राज्यमन्त्री सर्वधन राईले प्रतिनिधिसभा र पुर्वसभापति सुवासकुमार पोखरेलले प्रदेशसभा (क)मा उम्मेदवारी दर्ता गरेका थिए ।

    अन्तिममा सर्वधन र सुवासकुमार ‘व्याक’ हुँदा धर्मराज भने निरन्तर अघि बढेका हुन् । गठबन्धन अन्तरगत प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका रामकुमार राई (पासाङ), प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई र प्रदेशसभा ‘ख’मा कांग्रेसका भूपेन्द्र राई उठेका छन् ।

    जिल्लामा संगठन बचाउनका लागि स्वतन्त्र उम्मेदवारी दिइएको कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए । ‘केन्द्रले जिल्लाको गठबन्धनलाई फितलो बनाउने काम गर्‍यो ।

    रामप्रसाद राईले कुनैबेला विद्रोह गर्न खोजे, भुदेव राईले गर्न खोजे भने हामी पछिल्लो पुस्ता किन चुप बस्छौँ । केन्द्रले डायलग गर्नुपर्‍यो, सम्झाउनु पर्‍यो । अहिलेसम्म केन्द्रले यस बारेमा चासो राखेको छैन,’ सभापति राईले भने, ‘जिल्लाको संगठन बचाउने काम हाम्रो हो । नेतृत्वको भरथेग भएन । त्यसकारण वाध्य भएर आधिकारिक उम्मेदवार उठाएका हौँ । स्वतन्त्र उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका छौ्रँ ।’

    पोखरेलको स्वतन्त्र उम्मेदवारी फिर्ता नभएपछि नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजीलाई प्रत्यक्ष असर पर्ने देखिएको छ । पोखरेलका कारण गठबन्धनका उम्मेदवार असन्तुष्ट छन् भने एमाले उत्साहित छन् ।

    स्वतन्त्रलाई सहयोग नगरे माओवादीलाई असहयोग

    प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडलाई लिएर खोटाङ कांग्रेसभित्र ध्रुवीकरण भएको छ । अहिले प्रत्यक्ष र समानुपातिकमा टिकट पाउने कांग्रेसका उम्मेदवार र उनीहरु निकट नेता तथा कार्यकर्ता गठबन्धनको पक्षमा देखिन्छन् । अन्य भने स्वतन्त्र उम्मेदवारको पक्षमा देखिन्छन् ।

    आफ्नो स्वतन्त्र उम्मेदवार पोखरेललाई सघाए मात्र प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रलाई सहयोग गर्ने निर्णय गरिएको सभापति राईले बताए । गठबन्धनको चुनावी कार्यक्रम तय गर्नका लागि बिहिबार आयोजित बैठकमा कांग्रेसले प्रतिनिधि नपठाएको जनाएको छ ।

    ‘जवसम्म प्रदेशसभा (क)को स्वतन्त्र उम्मेदरलाई सहयोग हुन्न तवसम्म माओवादी केन्द्रलाई पनि सहयोग हुन्न,’ राईले भने, ‘कारबाही प्राविधिक पाटो हो ।

    स्थानीय तहको निर्वाचनमा अन्तरघात गरे भनेर उम्मेदवारले दिएको उजुरी र त्यही अनुसार जिल्लाले फरवार्ड गरेको मान्छेले नै अहिले टिकट लिएर आयो त । कांग्रेसको कारबाहीको नमूना त यही हो ।’

    जनमत कम भएको नेकपा (एस)लाई प्रदेशसभा (क) दिँदा गठबन्धन सुरक्षित नहुने र प्रतिगमन पनि रोक्न नसकिने असन्तुष्ट कांग्रेसको दावी छ । निर्णय सच्याउनका लागि गत शनिबार कांग्रेस केन्द्रीय समितिलाई ज्ञापन–पत्र बुझाएको टोलीले आइतबार जिल्लामा फर्किए लगत्तै बैठक राखेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको थियो ।

    केन्द्रले गरेको गठबन्धनप्रति इमान्दार हुनुपर्ने नेकपा (एकीकृत समाजवादी) खोटाङका अध्यक्ष जलसेर राईले बताए । केन्द्रबाट पावर लगाएर भए पनि कांग्रेसको स्वतन्त्र उम्मेदवार ‘व्याक’ गर्ने विषयमा छलफल सुरु भएको श्रोत बताउँछ ।

    सम्बन्धित समाचार