शुक्रवार, आश्विन २८ २०७९
नेपाल वाइड
खोटाङ, २८ असोज । मुलुक प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा होमिएको छ । मेलापातदेखि चोक चौतारोमा चुनावको चर्चा सुरु भएको छ । टिकट पाएका उम्मेदवार आफ्नो जीतको सुनिश्चितताका लागि मरिमेटेर घरदैलोमा जुटेका छन् ।
चुनावी अभियानलाई विशेष र आकर्षक बनाउनका लागि उम्मेदवारहरुले फरक–फरक शैली अपनाएका छन् । शहीददेखि आफ्नो स्वर्गीय बाबुआमाको तस्बीरमा माल्यार्पण गर्दै उम्मेदवारहरुले आ–आफ्नो चुनावी अभियानको थालनी गरेका छन् ।
एमालेबाट प्रतिनिधिसभा सदस्यमा उठेका बिशाल भट्टराई र प्रदेशसभा (ख)बाट उठेका रामप्रसाद दंगालले शहीद मुक्सन किरातको शालिकमा पूष्पगुच्छा अर्पण गर्दै आफ्नो चुनावी अभियान सुरु गरेका छन् ।
शहीद मुक्सन किरातको स्मृति दिवस पारेर दुई उम्मेदवारले असोज २४ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको अर्चलेस्थित समाधिस्थलमा बनाइएको शालिकमा पूष्पगुच्छा चढाएका थिए ।
‘प्रतिनिधिसभा सदस्यमा मनोनयन गरेपछि हामीले उनै शहीद मुक्सन किरातकी आमा सम्पूरा राईलाई साक्षी राखेर शालिकमा पूष्पगुच्छा अर्पण गरेर चुनावी अभियानको प्रारम्भ गरेका छा्रैँ,’ भट्टराईले फेसबुकमा लेखेका छन् । मुक्सनको द्धन्द्ध कालमा २४ असोज २०५९ मा हत्या भएको थियो ।
यस्तै, गठबन्धन अन्तरगत कांग्रेसबाट प्रदेशसभा (ख)मा उठेका भुपेन्द्र राईले आफ्नो स्वगीय आमा र बुवाको तस्बीरमा माल्यार्पण गर्दै चुनावी अभियानको थालनी गरेका छन् । राईले दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खास्थित आफ्नो घरको भित्तामा झुण्ड्याइएको आमा गुम्माकुमारी राई र बवा ध्यानबहादुर राईको तस्बीरमा माल्यार्पण गर्दै चुनावी अभियान थालेका हुन् ।
‘मलाई जन्म दिनुहुने बुवा र आमा भौतिक रुपमा हुनुहुन्न । हुनुभएको भए विजयको शुभकामना दिनुहुनथ्यो,’ राईले फेसबुकमा लेखेका छन्, ‘त्यसैले आमा र बुवाको तस्बीरमा माल्यार्पण गरी आशिरवाद माग्दै चुनावी अभियान सुरु गरेको छु ।’ अन्य उम्मेदवारले पनि आ–आफ्नै शैलीमा चुनावी अभियान थालेका छन् ।