बुधवार, कार्तिक ९ २०७९
नेपाल वाइड
खोटाङ, ९ कार्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडामा एउटै मुहानलाई फरक–फरक योजनाको नाम दिएर दुईतिरको बजेट खर्च गरेको पाइएको छ ।
स्थानीय सर्वेधारा मुहानलाई दोर्पाचिउरीडाँडा खानेपानी आयोजनाको नाममा प्रदेश सरकारको र सर्वेधारा खानेपानी योजनाको नाममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बजेट खर्च गरेको पाइएको हो । एउटै मुहान भए पनि फरक–फरक नाम दिइएको खानेपानी योजनामा आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश सरकारको ५ लाख र नगरपालिकाको ५ लाख ९ हजार खर्च भएको छ ।
प्रदेश सरकार खानेपानी सिँचाई तथा उर्जा मन्त्रालय खानेपानी तथा सरसफाई डिभिजन कार्यालय खोटाङका इन्जिनियर मोहन महासेठका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा सर्भे गरिएको दोर्पाचिउरीडाँडा खानेपानी योजनाका लागि मुहानमा आर्थिक वर्ष २०७८/०७९ मा इन्टेक बनाउन र सात सय मिटर पाईपलाईन खन्ने र बिछ्याउने शिर्षकमा बजेट बिनियोजन गरिएको थियो ।
क्रमागत योजनाका रुपमा २०७८ साल पुस २८ गते गरिएको सम्झौता अनुसारको काम २०७८ फागुन २० गते सम्पन्न भएको थियो । करिब १२०० जनसंख्या लाभान्वित हुने आयोजनाको भुक्तानी २०७८ चैत २३ मा भएको कार्यालयले जनाएको छ । विनियोजित पाँच लाखमध्ये पाईप खरिद, ढुवानी र फिटिङमा खर्च गरेर बाँकी रहेको तीन लाख ४४ हजार ७५० रुपैयाँ निर्माणको कामका लागि उपभोक्ता समितिलाई प्रदान गरिएको थियो ।
सोही मुहानलाई सर्वेधारा खानेपानी योजनाका रुपमा उपभोक्ता समिति र नगरपालिकाबीच २०७८ चैत २३ गते सम्झौता भएको थियो । छ लाख ५७ हजार ७८७ रुपैयाँ लागत अनुमान भएको योजनाका लागि नगरपालिकाको खानेपानी विशेष अनुदानबाट पाँच लाख नौ हजार भुक्तानी भएको देखिन्छ ।
सो रकमबाट आठ सय लिटरको आरबिटी ट्यांकी, तीन सय मिटर पाईपलाईन र नौ वटा धारा निर्माणको काम गरिएको छ । सर्वेधारा खानेपानी योजनाको ११ घर उपभोक्ता छन् । पाँच वटा धारा बनाउनु पर्ने भए पनि नौ वटा धारा बनाइएको सर्वेधारा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष नवराज परियार बताउँछन् ।
प्रत्येक घरमा धारा बनाउने क्रममा अझै दुई घरका लागि धारा बनाउन बाँकी छ । खानेपानी योजनाका लागि खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र नगरपालिका समक्ष बजेट माग गर्दा दुबैतिरबाट बजेट प्राप्त भएकाले सोही अनुसार काम गरिएको उपभोक्ता समितिको दाबी छ । यस विषयमा उपभोक्तालाई मात्र दोष दिन नहुने दोर्पाचिउरीडाँडा खानेपानी आयोजना निर्माण उपभोक्ता समितिका अध्यक्ष जीवन ढकाल बताउँछन् ।
प्रदेश सरकारको बजेटमा क्रमागत खानेपानी योजना सञ्चालन भइरहेको ठाउँमा बदनियतपूर्ण तरिकाले नगरपालिकाको बजेट हालिएको स्थानीय बताउँछन् । प्रदेश सरकारको बजेटबाट भएको काम देखाएर नगरपालिकाको बजेटमा अनियमितता गर्न खोजिएको कतिपयको दावी छ ।
अर्कातर्फ सर्वेधारा खानेपानी योजनाको काम नहुँदै २०७९ असार १६ गते वडालाई काम सम्पन्न भएको सिफारिस माग गरिएको थियो । वडाले दिएको सम्पन्न प्रतिबेदन र प्राविधिक मूल्यांकनका आधारमा प्रदेश सरकारको बजेटले बनेको इन्टेकको तस्बिर देखाएर नगरपालिकाबाट भुक्तानी लिइएको खुलेको छ । एउटै योजनामा दुईतिरको बजेट लगाएर ‘डुप्लीकेसन’ भएको देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई बताउँछन् । एउटै योजनामा दोहोरो भुक्तानी भएको भन्दै नगरपालिकामा उजुरी परेपछि नगरको बजेटबाट छुट्टै संरचना बनाउन सुरु गरिएको थियो ।
“सत्यतथ्य बुझ्न खानेपानी तथा सरसफाई डिभिजन कार्यालयलाई पत्राचार गर्यौँ । त्यहाँबाट पनि योजनालाई पैसा गएको देखियो । एउटै काममा दुई ठाउँबाट पैसा गएको देखियो,” उपमेयर राईले भने, “स्थलगतरुपमा उपभोक्ता समितिलाई बुझ्यौं, आयोजना निरिक्षण गर्यौँ । डुप्लीकेसन भएकै देखिएकोले उहाँहरुलाई कारबाहीको दायरामा आउनुपर्छ भनेपछि बजेट बराबरको काम सम्पन्न गरेको सुन्नमा आएको छ ।”
अधिकांश काम सम्पन्न भइसकेकाले बाँकी केही काम सक्ने शर्तमा काम सम्पन्नको सिफारिस दिएको वडाध्यक्ष हरिप्रसाद चौंलागाईले बताए । तर प्रदेश सरकारमार्फत भएको काम देखाएर नगरपालिकाको काम सम्पन्न भएको सिफारिस मागेको विषय भने पछि मात्र थाहा पाएको चौंलागाई बताउँछन् ।
“बजेट फ्रिज हुने अवस्था आयो । थोरै मात्र काम बाँकी छ । हामी काम सम्पन्न गर्छाै भनेपछि सिफारिस दिइएको हो,’ चौंलागाईले भने, “काम भइरहेको देखेको थिएँ । तर त्यसमा कता कताको बजेट आएर काम भइरहेको थियो भन्नेचैं थाहा थिएन । रोपाईको चटारो सकेपछि काम गर्छौँ भनेकाले सिफारिस दिइएको हो ।” प्रदेश सरकारको क्रमागत योजना सञ्चालन भइरहेको ठाउँमा नगरपालिकाको बजेट हालिएको खुलेपछि खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले नयाँ सम्झौता प्रकृया रोकेको छ । फिल्डमा हेरेर मात्र नयाँ कामको सम्झौता गरिने इन्जिनियर महासेठले बताए ।
नगरपालिकाबाट निकासा भएको बजेट स्थानीय कोप्चे–कुवागैरा सडक ग्राभेल गर्न पनि खर्च गरिएको पाइएको छ । एक लाख ३७ हजार सडक ग्राभेलिङमा खर्च गर्ने र खानेपानी योजनाको काममा सो बराबरको श्रमदान जुटाउने समझदारी गरिएको थियो ।
तर अनियमितता भएको भन्दै नगरपालिकामा उजुरी परेपछि तत्काल काम सम्पन्न गर्नतिर लाग्दा उपभोक्ता समितिले श्रमदान जुटाउन सकेन । श्रमदानमा गर्ने भनिएको काममा ज्यालादारी कामदार लगाउनु पर्दा हालसम्म कामदारलाई पारिश्रमिक भुक्तानी गर्न नसकिएको सर्वेधारा खानेपानी योजना उपभोक्ता समितिका अध्यक्ष परियार बताउँछन् ।
“कुमार खनाल, चिरञ्जिवी ढकाल, जीवन ढकाल, सुवास खनाल र वडाध्यक्ष हरिप्रसाद चौंलागाईको आग्रहमा सडक ग्राभेलिङमा पैसा हालेको हो । कुमार खनालको हातमा पैसा दिएँ,” परियारले भने, “सुरुदेखि उहाँहरुले भने अनुसार काम गर्दैआएँ । अहिले मलाई अप्ठ्यारोमा पारेको छ । म सोझो मान्छेलाई फसाउने काम गरिएको छ ।”
नौ सदस्यीय दोर्पाचिउरीडाँडा खानेपानी आयोजना र सात सदस्यीय सर्वेधारा खानेपानी योजना निर्माण समितिमा एकैव्यक्ति दुबैतिर बसेको पाइएको छ । कुमार खनाल सर्वेधारा खानेपानी योजनामा सचिव छन् । तिनै खनाल दोर्पाचिउरीडाँडा खानेपानी आयोजनामा कोषाध्यक्ष छन् । सर्वेधारा खानेपानी योजनामा कोषाध्यक्ष रहेकी निर्मला ढकाल दोर्पाचिउरीडाँडा खानेपानी आयोजनामा सचिव छिन् । केही एउटै परिवारका दुई जना दुइतिरको उपभोक्ता समितिमा बसेको पाइएको छ ।

नगरपालिकाको बजेटमा विर्ताटोलमा बनाइएको आरबिटी ट्यांकी ।