बुधवार, कार्तिक १६ २०७९
नेपाल वाइड
खोटाङ, १६ कात्तिक । टिकट वितरणमा असन्तुष्टी जनाउँदै खोटाङ प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवार उठाएको कांग्रेसले नेकपा माओवादी केन्द्रसँग वार्ताका लागि कार्यदल गठन गरेको छ ।
कांग्रेस नेता धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ता गरेपछि गठवन्धनभित्र निम्तिएको समस्या ‘सेटल’ गर्नका लागि बुधबार बसेको बैठकले माओवादी केन्द्रसँग वार्ताका लागि उपसभापति इवन राईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलमा कांग्रेस महाधिबेसन प्रतिनिधि बिश्वनाथ निरौला र नेता मनोज तिम्सिनालाई सदस्यको जिम्मेवारी दिइएको छ । साझा सहमतीको विन्दुमा पुग्न र निर्वाचनमा जित निकाल्नका लागि कार्यदललाई आगामी मंसिर ३ गतेसम्मकै समय दिइएको नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईले बताए ।
खोटाङमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई र प्रदेशसभा (क)मा नेकपा (एकीकृत समाजवादी)का बीरबलकाजी राई चुनावी मैदानमा छन् ।
कांग्रेसका स्वतन्त्र उम्मेदवार पोखरेल चुनाव चिन्ह धारा लिएर चुनावी मैदानमा उत्रिएका छन् । यही कारण प्रदेशसभा (क)मा खुलेर गठबन्धनको कांग्रेससहितको संयुक्त घरदैलो कार्यक्रम हुन सकेको छैन ।
वरु स्वतन्त्र उम्मेदवार पोखरेललाई अघि लगाएर कांग्रेस सभापति राई सहितका अधिकांश नेता छुट्टै दौडधुपमा व्यस्त छन् । कांग्रेसले गठबन्धन घटक नेकपा (एकीकृत समाजवादी)सँग भने वार्ता तथा छलफल गर्न चासो देखाएको छैन ।
प्रदेशसभा (क)मा माओवादीले आफ्नो स्वतन्त्र उम्मेदवारलाई भोट नहाल्ने अवस्था बने माओवादीलाई पनि प्रतिनिधिसभामा भोट नहाल्ने अडानमा काग्रेसका असन्तुष्ट पक्ष अघि बढेका छन् । ‘प्रदेशसभा (क)मा माओवादीले धारामा भोट दिनुपर्छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रलाई भोट हाल्छ,’ सभापति राईले भने, ‘प्रदेशसभा (क)मा जो समस्या सिर्जना भएको छ, त्यसलाई वैज्ञानिक विधिबाट हल गर्ने प्रयासमा कार्यदल बनाइएको हो । गठबन्धनलाई स्वीकार्य हुने विकल्पमा छलफल हुन्छ ।’
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जिल्लामा प्रतिनिधिसभा वा दुई प्रदेशसभामध्ये एक पाउनुपर्ने माग सुनुवाई नभएको भन्दै कांग्रेसका पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका पुर्व राज्यमन्त्री सर्वधन राई र प्रदेशसभा (क) मै मनोनयन दर्ता गरेका पुर्वसभापति सुवासकुमार पोखरेलले उम्मेदवारी दर्ता गरेका थिए । अन्तिममा सर्वधन र सुवासकुमार ‘व्याक’ हुँदा धर्मराज भने निरन्तर अघि बढेका हुन् ।