बिहिवार, कार्तिक १७ २०७९
नेपाल वाइड
खोटाङ, १७ कात्तिक । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको मृत्यु भएको छ । दाँत दुख्ने समस्याले गिँजा पाकेपछि सिकिस्त भएकी वडा सदस्य नेपालीको बुधबार राती २ बजे मृत्यु भएको हो ।
विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गिँजाको शल्यक्रीयापछि बिराट नर्सिङ होम रेफर गरिएकी नेपालीको इटहरी नपुग्दै मृत्यु भएको हो ।
जिल्ला अस्पताल दिक्तेलले रेफर गरेपछि तीन दिनअघि उनलाई धरान पुर्याइएको थियो । धरानमा आइसियू अभाव भएको भन्दै रेफर गरेपछि बिराटनगर लैजानेक्रममा नेपालीको मृत्यु भएको भाई बिजय नेपालीले बताए ।
लामो समयदेखि दाँत दुख्ने समस्याबाट ग्रसित उनको गिँजा काटेर पिप निकालिएको थियो । शल्यक्रीया गरेको एक घण्टासम्म नेपालीको अवस्था सामान्य थियो । सिकिस्त अवस्थामा पुगेकोबेला विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइसियूको अभाव देखाउँदै लापरवाही गरेको श्रीमान बलराम चर्माकारले बताए ।
नेपाली गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा सदस्यमा बिजयी भएकी थिईन् । उनी नेकपा माओवादी केन्द्रको पालिका कमिटि सदस्य हुन् ।