Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images
    राजनिति

    खोटाङमा गठबन्धनको चुनावीसभा सुरु, एमालेको चुनावीसभा शनिबारदेखि

    खोटाङमा गठबन्धनको चुनावीसभा सुरु, एमालेको चुनावीसभा शनिबारदेखि


    • शुक्रवार, कार्तिक १८ २०७९

    • नेपाल वाइड


    खोटाङमा गठबन्धनको चुनावीसभा सुरु, एमालेको चुनावीसभा शनिबारदेखि
    खोटाङबजारमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ) ।

    खोटाङ, १८ कात्तिक । प्रतिनिधिसभा र प्रदेशससभा सदस्य निर्वाचनका लागि खोटाङका राजनैतिक दलहरुले खुला चुनावी कार्यक्रम सुरु गरेका छन् । कात्तिक १७ गतेसम्म घरदैलो कार्यक्रम गर्दैआएका दल तथा तिनका उम्मेदवारले शुक्रबारदेखि खुला प्रचारका कार्यक्रम सुरु गरेका हुन् ।

    आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १ गतेसम्म खुला चुनावी कार्यक्रम गर्न पाउने व्यवस्था भए अनुसार जिल्लाका नेताहरुको दौडाहा सुरु भएको छ ।

    खुला प्रचारको समयमा निर्वाचन प्रचार–प्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । आफ्नो पक्षमा माहोल बनाउनका लागि दलहरुले शिर्ष नेतृत्वलाई समेत जिल्लाका चुनावी कार्यक्रममा बोलाउने तयारी गरिरहेका छन् ।

    खुला प्रचारको समयभित्र जनमत आफ्नो पक्षमा पार्नका लागि लोकतान्त्रिक वाम गठबन्धनले शुक्रबारदेखि खोटाङबजारबाट संयुक्त चुनावी सभा सुरु गरेको छ ।

    गठबन्धनले आगामी कात्तिक २९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा चुनावी कार्यक्रमको तयारी गरेको छ । खोटाङबजारमा भएको कार्यक्रमलाई माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमार राई (पासाङ), कांग्रेसका प्रदेश प्रदेश(ख)का उम्मेदवार भुपेन्द्र राई लागायतले सम्बोधन गरेका छन् ।

    कात्तिक १९ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा, कात्तिक २० गते ऐँसेलुखर्क गाउँपालिकाको ऐँसेलुखर्क बजार, कात्तिक २१ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, कात्तिक २२ गते रावाबेसी गाउँपालिकाको हरमटारमा गठबन्धनको चुनावीसभा हुने चुनाव परिचालन मूल समितिले जनाएको छ ।

    कात्तिक २३ गते हलेसी तुवाचुङ नगरपालिकाको दुर्छिम, कात्तिक २५ गते जन्तेढुंगा गाउँपालिकाको चिसापानी, कात्तिक २६ गते बराहपोखरी गाउँपालिकाको धर्तुङ, कात्तिक २८ गते दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमीबजार र कात्तिक २९ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेलबजारस्थित हेलिप्याडमा संयुक्त चुनावीसभा हुने जनाइएको छ ।

    गठबन्धन विरुद्ध प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले पनि आफ्नो चुनावी कार्यक्रम गरिरहेको छ । गठबन्धनको सिट बाँडफाँड र टिकट वितरणप्रति असन्तुष्टी जनाउँदै पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । गठबन्धनबाट प्रदेशसभा (क) मा नेकपा एकीकृत समाजवादीका बीरबलकाजी राई उम्मेदवार छन् ।

    dddddbn.jpg

    खोटाङबजारमा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली कांग्रेसका प्रदेश प्रदेश (ख)का उम्मेदवार भुपेन्द्र राई ।

    यस्तै, नेकपा एमालेले कात्तिक १९ गतेदेखि ऐसेलुखर्कबाट चुनावीसभा सुरु गर्ने तयारी गरेको छ । एमालेका अनुसार कात्तिक २० गते रावाबेसी गाउँपालिकाको हरमटारमा, कात्तिक २३ गते केपिलासगढी गाउँपालिकाको बाक्सिला, कात्तिक २४ गते दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमी बजार, कात्तिक २५ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुइपास्थित पञ्चरदोबाटो, कात्तिक २६ गते साकेला गाउँपालिकाको मानेभञ्ज्याङमा चुनावीसभाको मिति निर्धारण गरिएको छ ।

    यस्तै, कात्तिक २७ गते दिक्तेल बजार, कात्तिक २८ गते जन्तेढुंगा गाउँपालिकाको चिसापानी, कात्तिक २९ गते हलेसी, कात्तिक ३० गते खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी र मंसिर १ गते बराहपोखरी गाउँपालिकाको धर्तुङमा चुनावी सभाको तयारी गरिएको छ ।

    एमालेबाट प्रतिनिधिसभामा विशाल भट्टराई, प्रदेशसभा (क)मा पाँचकर्ण राई (पिके) र प्रदेशसभा (ख)मा रामप्रसाद दंगाल चुनावी मैदानमा छन् ।

    यस्तै, जनता समाजवादी पार्टीले पनि चुनावी कार्यक्रमलाई तिव्रता दिएको छ । जसपाबाट प्रतिनिधिसभामा डा. कृष्णकुमार राई (केके राई), प्रदेशसभा (क)मा राकेश राई र प्रदेशसभा (ख)मा प्रेमकुमार राई उम्मेदवार छन् ।

    प्रतिनिधिसभातर्फ राप्रपाका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मंगोल नेशनल अर्गनाइजेसनका दिपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई पनि आफ्नोपक्षमा माहोल सिर्जना गर्न लागिपरेका छन् । राप्रपाका श्रेष्ठले आफ्नो प्रतिवद्धता–पत्र समेत जनतामाझ पुर्‍याइरहेका छन् ।

    सम्बन्धित समाचार