सोमवार, कार्तिक २१ २०७९
नेपाल वाइड
खोटाङ, २१ कात्तिक । सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरमा ताला लगाएको छ ।
दिक्तेल–खोटाङबजार सडक अन्तरगत अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको भन्दै नगरपालिकाले आइतबार निर्माण कम्पनी काम ढुकुछु/बगाले/बिएनटी जेभीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको हो ।
सडकको काम अधुरो छाडेर निर्माण व्यवसायीले निर्माणस्थलबाट क्रमशः मेसिनरी उपकरण अन्यत्र लैजान थालेको सूचनाको आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष एवं नगर प्रवक्ता दिनेशकुमार घिमिरेले निर्माण कम्पनीको एक्स्काभेटर र व्याकहो लोडरलाई एउटै साङ्लोले बाँधेर ताला लगाएका छन् ।
लफ्याङस्थित निर्माणस्थलमा राखिएको एक्स्काभेटर र व्याकहो लोडरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई लगायतको उपस्थितिमा ताला लगाइएको हो ।
सडक स्तरोन्नतीको अवरुद्ध काम पुःन सुचारु नभइञ्जेल वा अर्को व्यवस्था नभएसम्मका लागि निर्माण व्यवसायीको मेसिनरी सामानमा तालाबन्दी गरिएको हो ।
मिस्त्री पठाएर एक्स्काभेटर र व्याकहो लोडर मर्मत गरेर अन्यत्र लैजान लागेको सूचना प्राप्त भएपछि मेयर तीर्थराज भट्टराईको निर्देशनमा ताला हालेर विज्ञाप्ती टाँस गरिएको वडाध्यक्ष घिमिरेले बताए । अन्य एक्स्काभेटर, ट्रिपर र व्याकहो लोडर भने रातारात अन्यत्र लगिसकेको बताइएको छ ।
भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नती गर्नेगरी ढुकुछु/बगाले/बिएनटी जेभीले ठेक्का लिएको हो ।
सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो । तर बाँकी रहेको करिब दुई महिनाभित्र द्रुततर गतिमा काम गर्दा समेत योजना सम्पन्न गर्न कठिन हुने देखिएको छ ।
निर्धारित समयमा सडक स्तरोन्नतीको काम सम्पन्न नहुँदा साकेला, दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाका नागरिकलाई दुःखसास्ती भइरहेको छ । सो सडक अलपत्र हुँदा नगरपालिकाको विकासमा अवरोध पुगेको वडाध्यक्ष घिमिरेले बताए ।
‘विरामी, ज्येष्ठ नागरिक, अशक्त, वालबालिका र महिलालाई आवत–जावतमा सबैभन्दा बढी समस्या भएको छ,’ घिमिरेले भने, ‘अन्य पालिकाबाट दिक्तेल पुग्न र जिल्ला अस्पतालसम्म बिरामी ल्याउन कठिनाई हुँदा हेलीकोप्टर चाटर्ड गर्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो महत्वपूर्ण सडकलाई अलपत्र पार्ने निर्माण व्यवसायीको मेसिनमा ताला हाल्नु परेको हो ।’
यस्तै, अस्पतालचोक–साप्सु खोला सडक अन्तरगत दुबेचिवा–साप्सुखोला (४ किलोमिटर) सडक खण्ड स्तरोन्नतीको ठेक्का सगरमाथा सजिव आरएन जेभीले लिएको छ । सगरमाथा सजिवले भ्याट सहित २ करोड ९६ लाख ३७ हजार ५८६ रुपैयाँमा ग्राभेल सक्नेगरी ठेक्का लिएको हो ।
उसले २०७९ माघ १५ गतेसम्ममा सम्पन्न गर्नेगरी २०८७ चैत २८ गते सडक स्तरोन्नतीको सम्झौता गरेको थियो । सो खण्डको काम पनि ढिलासुस्ती देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराईले बताए ।
दिक्तेलदेखि साप्सुखोलासम्मको दुई खण्डको स्तरोन्नतीको काममा ढिलासुस्ती भएको भन्दै मेयर भट्टराई गत असोज २७ गते सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगामा डेलीगेसन पुगेका थिए । मेयर भट्टराईले कार्यालय प्रमुख इन्जिनियर अरुणकुमार लाल कर्णलाई भेटेर मौखिक स्पष्टीकरण लिएका थिए ।
यस्तै, नगरपालिकाले ३ कात्तिकको मितिदेखि ३५ दिनभित्र नगरभित्रका १७ आयोजनाको प्रगती सहित मासिक कार्ययोजना र मासिक प्रगती विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको थियो ।
३५ दिनभित्र काम सुचारु नभए र तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भए नगरपालिकाबाट सम्वन्धित नियमक निकायहरुमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने लगायतका कानुनी कारबाहीको लागि सिफारिस गर्ने तयारी गरिएको छ ।
तर अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नतीको काम जिम्मा लिएको ढुकुछु/बगाले/बिएनटी जेभी भने काम सुचारु गर्नुको सट्टा अलपत्र छाडेर भाग्न लागेको मेयर भट्टराईले बताए ।