मंगलवार, कार्तिक २९ २०७९
नेपाल वाइड
खोटाङ, २९ कात्तिक । जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदान स्थल र मतदान केन्द्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो ।
निर्वाचन कार्यालयमा मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, स्टाम प्याड मसी, पर्मानेन्ट मार्कर, मार्कर पेन, स्केल मेटल, कैंची, ग्लुस्टिक, पञ्चिङ मेसिन, सोसर, प्लाष्टिक थैलो, प्लाष्टिक बोरा, दुई मिटर कोरा कपडा, कोरा कपडाको थैलो, चार पिस प्याकेट लाहा लगायत ६२ प्रकारका सामग्री बुझ्ने कर्मचारीको भीड लागेको छ । बुधबारसम्ममा सबै केन्द्रमा खटिएका कर्मचारीलाई मतदान सामग्री बुझाइसकिने निर्वाचन कार्यालयले जनाएको छ । आसन्न निर्वाचनमा खोटाङका एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ ।









