Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गराउन माग गर्दै मेयरलाई बुझाइए चार मागपत्र

    महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गराउन माग गर्दै मेयरलाई बुझाइए चार मागपत्र


    • बिहिवार, मंसिर १ २०७९

    • नेपाल वाइड


    महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गराउन माग गर्दै मेयरलाई बुझाइए चार मागपत्र
    मेयर तीर्थराज भट्टराईलाई मागपत्र बुझाउदै स्थानिय ।

    खोटाङ, १ मंसिर । खोटाङको महुरे–फोक्सिङटार सडक कालोपत्रेको काम सुचारु गर्न माग गर्दै स्थानीयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई एकैदिन चार वटा मागपत्र बुझाएका छन् ।

    उदयपुरको गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग अन्तरगत महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रेको काममा भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी र देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले चरम ढिलासुस्ती गरेको भन्दै बुईपा, विजयखर्क र राजापानीका स्थानीयले छुट्टाछुट्टै मागपत्रमार्फत तत्काल काम सुचारु गराउन माग गरेका हुन् ।

    चरम ढिलासुस्ती भइरहेको महुरे–फोक्सिङटार सडक कालोपत्रेको अवस्थाका बारेमा अवलोकनमा पुगेका मेयर भट्टराईलाई बुईपा र बिजयखर्कका स्थानीयले एक/एक वटा तथा राजापानीका स्थानीयले दुई मागपत्र बुझाउँदै तत्काल काम सुचारु गराउन वा नगरे ठेक्का तोड्नका लागि पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

    महुरे–फोक्सिङटार सडक आसपासका स्थानीयले कालोपत्रेको काम अलपत्र हुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे भएको, भएका काममा पनि गुणस्तर काम नभएको, सडकमा खाल्डाखुल्डी हुँदा आवत–जावतमा समस्या भएको, सडक दुर्घटना भएको गुनासो गरेका छन् ।

    मागपत्रमा निर्माण व्यवसायीले ज्यालादारी कामदार र होटल व्यवसायीलाई तिर्नुपर्ने रकम समेत वर्षौसम्म नतिरेको उल्लेख गरेको पाइएको मेयर भट्टराईले बताए । ‘ठेक्का लागेको वर्षौसम्म सडक कालोपत्रे भएन । हिँडडुल गर्न सास्ती भयो ।

    निर्माण व्यवसायीले हामीलाई टेरेन, ठग्यो भन्ने गुनासो आएको छ,’ मेयर भट्टराईले भने, ‘ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई बोलाएर तत्काल काम सुचारु गराउनु प¥यो । काम गरेन भने ठेक्का रद्ध गर्नेसम्मको कारबाही अघि बढाउनुप¥यो भन्ने माग आएको छ । यस बारेमा हामी केही न केही कारबाही अघि बढाउँछौँ ।’

    महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पुर्वी शहर आउजाउ गर्ने छोटो दुरीको बाटो हो । सो सडक कालोपत्रेको काम दुई खण्डमा भइरहेको छ ।

    महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिमपानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ ।

    भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले २९ असार २०७७ भित्र सम्पन्न गर्ने शर्तमा ३० असार २०७३ मा महुरे–राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

    ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगती देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ । सिद्धी शाही जेभीका दिपेन्द्र शाही कांग्रेस डोल्पा सभापति एवं अहिले प्रदेश (क)का उम्मेदवार छन् ।

    यस्तै, देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले कालोपत्रे गर्ने जिम्मा लिएको सिमपानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्डको हालसम्म करिब ६० प्रतिशत प्रगती भएको छ । ५५ करोड ८७ लाखमा १० साउन २०७७ भित्र कालोपत्रे पूरा गर्ने शर्तमा ११ साउन २०७३ मा सो खण्डको सम्झौता गरिएको थियो । कोभिड–१९ को महामारी कारण देखाएर दुबै खण्डको म्याद पटक–पटक थप हुँदैआएको छ ।

    काममा ढिलासुस्ती गर्दैआएको निर्माण कम्पनीले पटक–पटक आफ्नो साईड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको छ । प्रतिनिधिलाई फिल्डमा पठाएर मूख्य ठेकेदार सम्पर्क विहिन बनेर बस्ने गरेका छन् ।

    सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका बारेमा जनप्रतिनिधि र दलका नेता समेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस भइरहेको छ ।

    निर्माण कम्पनीका प्रतिनिधिले वर्षौँसम्म उधारो नतिर्दा दर्जनौं साना व्यवसायी मारमा परेको पञ्चारदोबाटोका स्थानीय व्यवसायी अष्टकुमार श्रेष्ठले गुनासो गरे । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले भने २६ कात्तिकगतेदेखि महुरे–राजापानीको सिमपानी सडकको काम सुचारु गराएको छ ।

    सम्बन्धित समाचार