सोमवार, मंसिर ५ २०७९
नेपाल वाइड
खोटाङ, ५ मंसिर । खोटाङमा आज रातीदेखि मत गणना गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार साँझ बसेको उम्मेदवार सहितको सर्वदलीय बैठकले सोमबार राती नौ बजेदेखि मत गणना गर्ने निर्णय गरेको हो ।
मुख्या निर्वाचन अधिकृतको कार्यालयका रुपमा प्रयोग गरिएको जिल्ला अदालतको तीन कोठामा ताल जालीले बारेर मत गणनास्थल तयार पारिएको छ ।
एउटा कोठामा प्रतिनिधिसभा र अन्य दुई कोठामा प्रदेशसभा (क) र प्रदेशसभा (ख)को मत गणना गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । बैठकले एक पटकमा पाँच सय मत गणना गरिसकेर परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ ।
यस्तै, मतपत्र सदर वा बदर सम्वन्धमा निर्देशिका र निर्वाचन आयोगबाट भएको परिपत्र बमोजिम हुनेगरी मुख्या निर्वाचन अधिकृतबाट अन्तिम निर्णय भए बमोजिम हुने, मत गणनास्थलमा प्रत्येक उम्मेदवारका एक/एक जना प्रतिनिधि बस्न पाउने लगायतका निर्णय भएका छन् ।
मत गणना स्थलमा प्रवेश पास भएका व्यक्तिको मादक पदार्थ सेवन जाँच गर्ने र मापसे गरे प्रवेश नदिने निर्णय भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा ६७ हजार ३७३ (४७.१७ प्रतिशत) मत खसेको छ । निर्वाचनमा स्वतन्त्र सहित नौ दलका २६ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यमा आठ, प्रदेशसभा (क)मा १० जना र प्रदेशसभा (ख)मा छ जना उम्मेदवार छन् ।