बिहिवार, मंसिर ८ २०७९
नेपाल वाइड
खोटाङ, ८ मंसिर । निर्वाचनका लागि नियुक्ती भएका म्यादी प्रहरी बिदा भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गत ३० असोजमा नियुक्ती भएका म्यादी प्रहरीलाई बिहिबार एकैसाथ बिदा गरिएको हो ।
निर्वाचनको सुरक्षार्थ खटाउनका लागि खोटाङमा भर्ना गरिएका एक हजार १७६ जना म्यादी प्रहरीलाई बिदा गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
४० दिनका लागि भर्ना गरिएका म्यादी प्रहरीले ड्यूटीका क्रममा बोकेका लठ्ठी बुझाएर प्रमाण–पत्र बुझेर घर फर्किएका छन् । जिल्ला प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यालय हलेसी, ईलाका प्रहरी कार्यालय ऐसेलुखर्क, ईलाका प्रहरी कार्यालय बाक्सिला, ईलाका प्रहरी कार्यालय खोटाङबजार, ईलाका प्रहरी कार्यालय चिसापानी लगायतका यूनिटबाट म्यादी प्रहरीको बिदाई गरिएको छ ।
दिक्तेलबजारमा विजय जुलुस निकालिइरहँदा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीको भव्य बिदाइ भइरहेको थियो । घर फर्कन लागेका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयको प्रांगणमा सामुहिक तस्बीर कैंद गरिरहेको दृश्या देखिएको थियो । कतिपयले सेल्फी खिचिरहेका थिए । कतिपयले म्यादी प्रहरीको रुपमा काम गर्न ‘मज्जा भएको’ प्रतिक्रिया दिएका छन् ।



