Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    कारागारको पुस्तकालयलाई खोटाङ सेवा समाज कतारको पुस्तक तथा फर्निचर

    कारागारको पुस्तकालयलाई खोटाङ सेवा समाज कतारको पुस्तक तथा फर्निचर


    • शनिवार, मंसिर १० २०७९

    • नेपाल वाइड


    कारागारको पुस्तकालयलाई खोटाङ सेवा समाज कतारको पुस्तक तथा फर्निचर
    निमित्त जेलर सोमप्रसाद आचार्यलाई पुस्तक हस्तान्तरण गर्दै उपमेयर बिसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह लगायत । तस्बीरः दमन राई

    खोटाङ, १० मंसिर । खोटाङ सेवा समाज कतारले जिल्ला कारागार शाखा दिक्तेलको पुस्तकालयलाई पुस्तक तथा फर्नीचर प्रदान गरेको छ ।

    रोजगारीमा सिलसिलामा कतार पुगेका जिल्लाबासीलाई एकताबद्ध गर्दै समस्या परेकाबेलामा हातेमालो गर्नका लागि ‘प्रवासको पसिना, स्वदेशको साकार सपना’ भन्ने नारा सहित १८ माघ २०५४ मा स्थापना गरिएको समाजले कारागारमा रहेको पुस्तकालयलाई आवश्यक पुस्तक तथा फर्निचरका सामग्री प्रदान गरेको हो ।

    कारागारमा रहेको बन्दीगृह पुस्तकालयलाई विभिन्न विद्याका २५५ थान पुस्तक, पुस्तक राख्ने दुई वटा र्‍याक, एक वटा टेबल र एक वटा बेञ्च प्रदान गरेको हो ।

    पुस्तक तथा फर्निचरका सामान शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, वडासदस्य पेमा शेर्पा लगायतले जिल्ला कारागार शाखाका निमित्त जेलर सोमप्रसाद आचार्यलाई हस्तान्तरण गरेका छन् ।

    फर्निचरका सामग्री संस्थाकोतर्फबाट खरिद गरेर तथा पुस्तक विभिन्न सहयोगीबाट संकलन गरेर कारागारका कैंदीबन्दीका लागि उपव्ध गराइएको खोटाङ सेवा समाज कतारले जनाएको छ ।

    कैंदी जीवन विताइरहेका कैंदीबन्दीका लागि जेलभित्रै पुस्तक पढ्ने वातावरण सिर्जना गर्दै अपराधिक गतिविधिबाट निरुत्साहित गराउने साथै कैंदीबन्दीको जेल जीवन पश्चात सरल र सहज जीवनयापन गर्न सघाउ पुर्‍याउने लक्ष्यका साथ पुस्तकालयलाई सहयोग गरिएको खोटाङ सेवा समाज कतारका उपाध्यक्ष डिल्लीसेर खड्काले बताए ।

    book for jailer by kss qatar-khotang1.jpg

    खोटाङ सेवा समाज कतारले जिल्ला कारागार शाखा दिक्तेलको पुस्तकालयलाई प्रदान गरेको पुस्तक तथा फर्नीचर ।

    पुस्तकालयको सहयोगार्थ समाजका प्रमुख सल्लाहकार रुद्र शर्मा आचार्यको संयोजकत्वमा प्रेमप्रसाद भट्टराई सदस्य सचिव, कैलास श्रेष्ठ र पर्शुराम श्रेष्ठ (पवन) सदस्य रहेको समिति गठन गरेर अभियान चलाइएको थियो । कारागारमा पीडित सेवा समाजको सहयोगमा २०७२ सालमा बन्दीगृह पुस्तकालय स्थापना गरिएको थियो ।

    खोटाङ सेवा समाज कतारले आपत बिपतमा परेका नेपाली कामदारको उद्धार, अकालमा मृत्यु भएका नेपालीको शव स्वदेश पठाउने, आफन्त गुमाएका आश्रित परिवारलाई आर्थिक तथा संस्थागत सहयोग गर्दैआएको छ । जिल्लाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि सहयोग योगदान दिँदै आएको समाजले २०७४ सालमा खोटाङका लागि एक वटा एम्बूलेन्स जुटाएर हस्तान्तरण गरेको थियो ।

    समाजले पञ्च माबि दिक्तेललाई प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक सहयोग, सिद्धेश्वरी माबि खिदिमा र कालिका माबि बाकाचोलमा गरीव तथा जेहेन्दार विद्यार्थी छात्रबृत्ति कोष स्थापना गरिसकेको छ ।

    जिल्लाबाट उत्कृष्ट अंक ल्याएर एसएलसि उत्तिर्ण गर्ने एकजना विद्यार्थीलाई पुरस्कार प्रदान गर्दैआएको समाजले पछिल्लो समय वर्षेनी विद्यालयमा छात्रबृत्ति कोष स्थापना गर्दैआएको छ ।

    कतारमा नेपाली नियोग नहुँदा नियोगले सरह काम गर्नेदेखि डोल्मा बचाउ अभियानमा पनि आर्थिक सहयोग गरेको समाजका कोषाध्यक्ष रविन शेर्पाले बताए ।

    सम्बन्धित समाचार