Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    मुन्दुमी विधिबाट संमृद्धको जन्मदिन मनाइए

    मुन्दुमी विधिबाट संमृद्धको जन्मदिन मनाइए


    • आइतवार, मंसिर ११ २०७९

    • नेपाल वाइड


    मुन्दुमी विधिबाट संमृद्धको जन्मदिन मनाइए
    आफन्तको उपस्थितिमा मुन्दुमी विधिबाट संमृद्धको जन्मदिन मनाइदै ।

    खोटाङ, ११ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्माका बालक संमृद्ध राईको मुन्दुमी विधिबाट जन्मदिन मनाइएको छ । ९ वर्ष पुरा गरी १० वर्ष प्रवेश गरेको अवसरमा शनिबार मुन्दुम महाज्ञान केन्द्र, चाबहिल काठमाडौँमा मुन्दुमी परम्परा अनुसार जन्मदिन मनाइएको हो ।

    विदेसी संस्कृति अनुसार जन्मदिन मनाउने जमातकाबिचमा संमृद्धको मुन्दुमी संस्कार अनुसार जन्मदिन मनाइएको छ । विद्या संस्कार (साविकको चेल्सी ईन्टरनेशनल स्कुल) काठ्माण्डौंमा कक्षा ४ मा अध्ययनरत संमृद्धले विगतका वर्ष आफ्नो उमेर बराबरको रकम परोपकारी काममा प्रदान गर्दै जन्मदिन मनाउने गरेका थिए । तर यसपल्ट आफ्नो संस्कार संस्कृतिको पुस्तान्तरणका लागि संमृद्धको मुन्दुमी संस्कार अनुसार जन्मदिन मनाइएको हो ।

    मुन्दुम महाज्ञान केन्द्रमा आफन्त र नातेदार भेला भएका थिए । संमृद्धको कुङ्सल्मा सायरेम्मा (सङ्कल्प तथा शिर उभ्याउनी)का लागि तयारी भइसकेको थियो ।

    मुन्दुम महाज्ञान केन्द्र अध्यक्ष मविन्द्र राई ‘साइँलाखुइँ’का अघि संमृद्ध हात जोडेर बसे । करिब ४० मिनेटमा सङ्कल्प तथा शिर उभ्याउनी कार्यक्रम सकियो । सो समयावधिमा दिलीहोँ, नाकीहोँ र मामा चिनिमालाई सम्झने काम भयो ।

    किराँत राई समुदायले दिलीहोँ, नाकीहोँ र मामा चिनिमालाई सृष्टिकर्ताका रूपमा आदर गर्छन् । कुलपितृ रूपमा भने माछाक्मा (कोक्मा पिरिमा)लाई सम्मान गर्दै दायाहुइलुङ (तीनचुला)को पूजा गर्छन् । यो सबैले गर्दा राम्रो हुन्छ । पुर्खाबाट जान–अन्जानमा गल्ती भएको थियो भने पनि सङ्कल्प र शिर उभ्याउनी गर्दा सम्बन्धित व्यक्ति र परिवारको भलो हुने मान्यता छ ।

    सङ्कल्प तथा शिर उभ्याउनी कार्यक्रम सकिएपछि संमृद्धले केन्द्रका अध्यक्ष राईलाई नौ हजार हस्तान्तरण गरे । आफू नौ वर्ष पुगेको अवसर पारेर संमृद्धले नौ हजार नै हस्तान्तरण गरेका हुन् । आर्थिक सहयोग हस्तान्तरणलगत्तै केक काटियो । केक काट्दा माटाको पाला (दियो)मा नौ वटा बत्ती बलिरहेका थिए ।

    जन्मदिन मनाउँदा बालेको बत्ती या क्यान्डल निभाउने गरिन्छ । तर त्यहाँ त्यसो गरिएन । बत्ती ननिभाई फरक प्रकृतिको जन्मोत्सव मनाइएको थियो । “यो धर्ती, जहाँ हामीले टेकेका छौँ, यहाँ हामीले प्राकृतिकरूपमा जे–जे खाएका छौँ, उपभोग गरेका छौँ ।

    हामीले पिउने पानी, उपभोग गर्ने आगो र दायाहुइलुङ (तीन चुला) प्रयोग गर्ने गरेकामा प्रकृतिलाई धन्यवाद ज्ञापन गर्छौँ । अर्थात् प्रशंसा (छामछुइमा) गछौँ । संमृद्धको जन्मोत्सवमा आयोजित सङ्कल्प तथा शिर उभ्याउनीमा ती सबै–सबै काम गर्‍यौँ,” केन्द्रका अध्यक्ष राईले भने, “हामीले अझै अर्थपूर्ण तरिकाले बाँच्नु छ । बाँचुन्जेलका लागि ग्रहदशा, रोगव्याधि नलागोस् र शिर उच्च राख्नैपर्छ । समाजमा राम्रो काम गरेर अरूलाई पनि बाटो देखाउने सकियोस् भनेर प्रार्थना गर्दै संमृद्धका लागि शक्ति मागियो ।”

    चाडबाडमा पाएको दक्षिणा, कतिपयले मायाँ गरेर ‘चक्लेट, बिस्कुट खानु है’ भन्दै दिएको पैसा संमृद्ध राई नामक खुत्रुकेमा सङ्कलन गरिन्छ । सालिन्दा जन्मोत्सवको अघिल्लो दिन खुत्रुके फुटाउने गरिन्छ ।

    “आफूमात्रै होइन, बाँडेर खानुपर्छ भन्ने पाठ सिकाउन जन्मोत्सवमा सहयोग गर्न सिकाइरहेका छौँ,” आमा रिङ्कु राईले भनिन्, “विगत वर्षहरूमा छोराको बर्थ डे मनाउँदा आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गराइन्थ्यो । खानपिन गर्ने/गराउने खर्च कटौती गरेर समृद्धको बर्थ डेका दिन सामाजिक काममा लगाउने पारिवारिक सल्लाह गर्‍यौँ । तसर्थ, हामीले चार वर्षदेखि यस्तो अभ्यास गरिरहेका छौँ ।”

    मुन्दुम अध्येता भोगीराज चाम्लिङ, होलेसुङ समूह नेपालका अध्यक्ष जनकराज राई, समाजसेवी भूपेन्द्रकुमार राई, कवि तथा लेखक सोनाम सज्जन किराँती लगायतले मुन्दुमी संस्कार अनुसार जन्मदिन मनाइएको विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

    यसअघि आफ्नो जन्मदिनको अवसर पारेर संमृद्धले चितवनको टाँडीमा रहेको ‘सानोघर’लाई सात हजार (२०७६), खोटाङको जालपामा रहेको ‘ज्योतिका साथीहरू)लाई सात हजार (२०७७) र जिपी कोइराला मेमोरियल क्याम्पस काठमाडौँका निमित्त क्याम्पस प्रमुख मोहनराज राईको उपचार सहयोगार्थ आठ हजार (२०७८) सहयोग गरिसकेका छन् ।

    सम्बन्धित समाचार