सोमवार, मंसिर १९ २०७९
नेपाल वाइड
खोटाङ, १९ मंसिर । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटोमा अम्लीयपन अधिक देखिएको छ । नवौं बिश्व माटो दिवसको अवसरमा सोमबार दिक्तेलमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रशार अधिकृत सञ्जय पण्डितले १७ र १८ मंसिरमा डिजिटल स्वाइल ल्यावबाट गरिएको परिक्षणका क्रममा माटोमा अम्लीय र क्षरियपनको मात्रा अधिक देखिएको जानकारी दिएका हुन् । माटोको ३० वटा नमूना परिक्षण गर्दा १५ अम्लीय, १२ क्षारिय र ३ वटा तटस्थ नमूना पाइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा किट बक्सबाट माटो परिक्षण गर्दा पनि नगरपालिकाको माटोमा अम्लीय र क्षारियपनको मात्रा अधिक देखिएको जनाइएको छ । ५१ वटा नमूना परिक्षण गर्दा १३ अम्लीय र ३८ क्षारियको नमूना फेला परेको हो । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रशार अधिकृत पण्डितले कार्यपत्रमा उल्लेख गरेका छन् ।
बिग्रँदै गएको माटोको स्वास्थ्य सुधारका लागि प्रांगारिक पदार्थको व्यवस्थापन, बाली चक्रमा कोशेबालीको समावेश, मिश्रित बाली, अन्तर बाली र बहुबाली प्रणालीलाई अलवम्बन गर्ने, एकीकृत खाद्य तत्व व्यवस्थापन पद्धति अवलम्बन गर्नेमा ध्यान दिनुपर्ने माटो विज्ञहरुले सुझाव दिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खोटाङका प्रमुख श्रीधर खनालले यही अवस्था रहे आगामी तीन सय वर्षसम्ममा बिश्वको माटोमा मरुमूभीकरणको खतरा रहेको जानकारी दिए ।
प्रमुख खनालले प्रांगारिक श्रोत, बाली व्यवस्थापन, रासायनिक मल व्यवस्थापन लगायतमा ध्यान दिन सके माटोको व्यवस्थापन गर्न सकिने उल्लेख गरे । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले ‘माटोको परिचय र माटोको महत्व’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, कृषिविज्ञ मदन राईले ‘मानव जातीको जननी बिरुवा र बिरुवाको जननी माटो’ भएको चर्चा गरेका थिए ।
खोटाङमा दिक्तेल कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभद्रा मदन फाउण्डेसनको संयुक्त आयोजनामा बिश्व माटो दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले माटोको विषयमा चर्चा–परिचर्चा गरेका थिए ।
कार्यक्रममा शुभद्रा मदन फाउण्डेसनका विद्यार्थीले नाटक प्रदर्शन गरेका छन् । फाउण्डेसनका विद्यार्थीले ‘मुर्ती नाटक’ प्रदर्शन गरेका छन् । मानवीय क्रियाकलापले माटोमा पर्ने अशरलाई नाटकमा चित्रण गरिएको थियो ।
कार्यक्रममा सभापति, प्रमुख अतिथि एवं अन्य अतिथिलाई आसनग्रहण गराउने परिपार्टी विपरित सबैलाई अतिथि भनेर आसनग्रहण गराइएको थियो । आयोजकले आसनग्रहणमा समय खर्च गरेनन् । सहभागीलाई टपरीमा किवी, सुन्तला, उसिनेको इस्कुस र जराको खाजा बाँडिएको थियो ।
