Logo
  • शुक्रवार, कार्तिक १४ २०८३Oct 30 2026

  • images
    images

    दिप्रुङमा वडा–वडामा पुगेर योजना सम्झौता, वडाबाटै फरफारक दिने तयारी

    दिप्रुङमा वडा–वडामा पुगेर योजना सम्झौता, वडाबाटै फरफारक दिने तयारी


    • शनिवार, पौष २ २०७९

    • नेपाल वाइड


    दिप्रुङमा वडा–वडामा पुगेर योजना सम्झौता, वडाबाटै फरफारक दिने तयारी
    वडामा पुगेर योजना तथा कार्यक्रम सम्झौता गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका कर्मचारीहरु ।

    खोटाङ, २ पुस । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेको छ । ‘गाउँ–गाउँमा सिंहदरबार’ भन्ने नाराको अनुभुती दिलाउने लक्ष्यका साथ गाउँपालिकाले सबै वडामा पुगेर सडक, पुल, भवन, सिँचाई, खानेपानी लगायतका वडास्तरिय योजना तथा कार्यक्रमको सम्झौता गरेको हो ।

    चालु आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित योजना तथा कार्यक्रम सञ्चालनार्थ गाउँपालिकाले २६ मंसिरदेखि २ पुसम्ममा वडा–वडामा सम्झौता शिबिर सञ्चालन गरेको थियो । गाउँपालिकाका सात वटै वडामा पुगेर पुँजीगततर्फका ९८ वटा वडास्तरिय योजना तथा कार्यक्रम सम्झौता गरिएको गाउँपालिकाका सूचना अधिकारी एवं प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख पिएस्पी चाम्लिङ राईले बताए ।

    हालसम्म गाउँपालिकाको कार्यालयमा बोलाएर योजना सम्झौता गर्ने/गराउने गरिएकामा यसपल्ट वडा वडामै पुगेर सम्झौता गरिएको हो । वडाबाट योजनाको सम्झौतासँगै इलेक्ट्रोनिक फाइनान्सियल ट्रान्सफर (इएफटी)मार्फत वडाबाटै भुक्तानी दिने र फरफारक गर्न/गराउनका लागि पहल भइरहेको सूचना अधिकारी राईले जानकारी दिए ।

    २६ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा, २७ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँ र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका लागि ओख्रे (डाँडागाउँ)मा, २८ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ छोरम्बुमा, २९ मंसिरमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा, १ पुसमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र २ पुसमा दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीमा कार्यक्रम गरेर योजना सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ । कृषि तथा पशुसेवा सम्वन्धी योजना तथा कार्यक्रम भने पालिका स्तरिय कृषि विकास समितिको निर्णयपछि मात्र सम्झौता गरिने छ ।

    गाउँपालिकामा पुँजीगत, चालु लगायत सबै किसिमका गरी ३०७ वटा योजना तथा कार्यक्रमहरु छन् । त्यसमध्ये २६ वटा पालिका स्तरिय योजना छन् । गत १९ मंसिरदेखि २१ मंसिरसम्म वडा तथा पालिका स्तरिय उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, संघसंस्था तथा समुहलाई योजना सञ्चालन तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी गराएपछि योजना सम्झौता गरिएको हो ।

    छुट भएका उपभोक्ता समितिलाई भने गाउँपालिकामै बोलाएर सम्झौता गरिनेछ । वडा स्तरिय योजना तथा कार्यक्रम सम्झौताका लागि गाउँपालिकाले सामुदायीक विद्यालय, संघसंस्था, समुह तथा गठित उपभोक्ता समितिलाई सूचनामार्फत आवश्यक कागजात सहित तोकिएको स्थानमा उपस्थितिका लागि आव्हान गरेको थियो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, सूचना अधिकारी एवं प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख राई, इन्जिनियर मुकेशकुमार यादव, विभिन्न विषयगत शाखाका कर्मचारीको टोली प्रत्येक वडा पुगेर योजना तथा कार्यक्रमको सम्झौता गराएका हुन् ।

    सम्बन्धित समाचार